रसुवा बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन

ड्रागन मिडिया सम्वाददाता
सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ। खोज, उद्धार तथा राहत कार्यलाई तीव्र र प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका टोलीलाई थप उपकरणसहित प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालित सुरक्षा टोलीलाई उद्धार तथा राहत कार्यका सम्बन्धमा आवश्यक निर्देशनसहित ब्रिफिङ गरेका छन्।
गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राख्न, सम्पर्कविहीन तथा जोखिममा रहेका नागरिकको अवस्थाबारे शीघ्र जानकारी संकलन गर्न र राहत वितरणलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन्।
उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबीच प्रभावकारी समन्वय कायम गर्दै उपलब्ध जनशक्ति, उपकरण र अन्य श्रोतको तीव्र परिचालन गर्न जोड दिएका छन्।
भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवा तथा तल्लो तटीय क्षेत्रमा जनधन र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि सरकारले सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा अन्य सम्बन्धित निकायलाई खोज, उद्धार र राहत कार्यमा परिचालन गरिरहेको छ।





