१७ भाद्र २०८३, बुधबार

रसुवा बाढीप्रति राजा ज्ञानेन्द्रबाट गहिरो दुःख व्यक्त, नेपाल–चीन संयुक्त विपद व्यवस्थापनमा जोड

ड्रागन मिडिया सम्वाददाता

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट रसुवासहित भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै खोज, उद्धार, राहत र उपचार कार्यलाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुन आह्वान भएको छ।

निर्मल निवासस्थित संवाद सचिवालयबाट बुधबार देशवासीका नाममा बक्सेको सन्देशमा चीनको स्वशासित प्रदेश तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढी भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बजार, बस्ती तथा बासिन्दासँगै सडक, पुलपुलेसा, विद्युत आयोजना, भौतिक संरचना र खेतीपातीमा अपार क्षति पुगेको उल्लेख गरिएको छ।

प्राकृतिक विपदमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षाकर्मीसहित सम्पर्कविहीन तथा बेपत्ता नागरिकको तत्काल खोजी कार्यलाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

सन्देशमा प्राकृतिक विपदको यस दुःखद घडीमा खोजी, उद्धार, राहत तथा उपचारका काममा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई आग्रह गरिएको छ। सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था तथा आम नागरिक सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै विपदमा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुनुपर्नेमा जोड दिइएको छ।

महाराजाधिराजबाट विशेष रूपमा सीमापार प्राकृतिक विपद व्यवस्थापनमा नेपाल र चीनबीच संयुक्त प्रयासको आवश्यकता औँल्याइएको छ। सीमासँग जोडिएको छिमेकी देशमा आएको प्राकृतिक विपदले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले पृथक प्रयासभन्दा द्विदेशीय संयुक्त प्रयासमार्फत यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न अझ प्रभावकारी हुने धारणा सन्देशमा व्यक्त गरिएको छ।

“सीमासँग जोडिएका छिमेकी देशमा आएको प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले अलग–अलग प्रयासभन्दा द्विदेशीय संयुक्त प्रयासमार्फत यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न सकेमा अझ प्रभावकारी हुने तथ्यलाई हामी सबैले मनन गर्न आवश्यक देखिएको छ,” सन्देशमा भनिएको छ।

यस अभिव्यक्तिले नेपाल र चीनबीच सीमापार नदी प्रणालीको निगरानी, पूर्वसूचना आदानप्रदान, खोज तथा उद्धार, जोखिम न्यूनीकरण र तत्काल समन्वयका लागि संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतासमेत औँल्याएको छ।

रसुवा र केरुङ क्षेत्र आसपास बुधबार देखिएको बाढीपहिरोले सीमा दुवैतर्फ जनधनसँगै सडक, पुल, विद्युत, सञ्चार तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको अवस्थामा महाराजाधिराजबाट द्विदेशीय संयुक्त विपद व्यवस्थापनको विषयलाई विशेष महत्वका साथ उठाइएको हो।

सन्देशको अन्त्यमा “श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्। जय नेपाल।” भन्ने शुभकामना व्यक्त गरिएको छ। उक्त सन्देश भदौ १० गते निर्मल निवासबाट जारी गरिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button