भोटेकोशी विपदमा मृतक ५५ पुगे, ११४ जनाको हवाई उद्धार; २२ पक्की पुल र पाँच बेलिब्रिज बगे

ड्रागन मिडिया सम्वाददाता
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या साँझसम्म ५५ पुगेको छ। नेपाल प्रहरीले चितवनमा १८, धादिङमा १६, नुवाकोटमा ११, गोरखामा नौ र रसुवामा एक जनाको शव फेला परेको जनाएको छ। बाढीले रसुवादेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म जनधन तथा भौतिक पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ।
नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरमार्फत हालसम्म ११४ जनाको हवाई उद्धार गरिएको छ। तीमध्ये नेपाली सेनाले ८५ र निजी हेलिकोप्टर कम्पनीहरूले २९ जनाको उद्धार गरेका छन्। सेनाले टिमुरे–धुन्चे क्षेत्रबाट ६०, टिमुरे–त्रिशूलीबाट १३, मैलुङबाट पाँच, बेत्रावतीबाट चार र त्रिशूली–काठमाडौंसम्म तीन जनाको उद्धार गरेको जनाएको छ।
उद्धार तथा राहतका लागि बुधबार साँझ ५:२० बजेसम्म काठमाडौं विमानस्थलबाट ४९ वटा हेलिकोप्टर उडान भएका थिए। ती उडान धुन्चे, टिमुरे, स्याफ्रुबेसी, मैलुङ, त्रिशूली र धादिङलगायत प्रभावित क्षेत्रमा केन्द्रित थिए। प्रतिकूल मौसमका कारण केही उद्धार उडान प्रभावित भए पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र निजी क्षेत्रका हेलिकोप्टरले खोज तथा उद्धारलाई निरन्तरता दिएका छन्।
बाढीपछि सुरक्षा निकायका ठूलो संख्यामा जनशक्तिसँग पनि सम्पर्क हुन सकेको छैन। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार रसुवामा ४४ जना सैनिक अधिकारी सम्पर्कविहीन छन्। नेपाल प्रहरीका ३० र सशस्त्र प्रहरी बलका नौ सुरक्षाकर्मीसँग पनि सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ। सुरक्षा निकायले उनीहरूको खोजी जारी राखेका छन्।
नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरणअनुसार बाढीपछि ३८४ यात्रुसँग सम्पर्क हुन सकेको छैन। तीमध्ये २९१ विदेशी र ९३ नेपाली नागरिक रहेको बोर्डले जनाएको छ। सञ्चार, सडक र विद्युत सेवा अवरुद्ध भएकाले सम्पर्कविहीन भनिएका सबै व्यक्तिलाई बाढीमा बेपत्ता भएको पुष्टि भने भइसकेको छैन।
बाढीले सडक पूर्वाधारमा असाधारण क्षति पुर्याएको छ। सडक विभागका अनुसार रसुवागढीदेखि धादिङको गल्छीसम्म २२ वटा पक्की पुल र पाँचवटा बेलिब्रिज बगेका छन्। त्रिशूली, बेत्रावती, तादीखोला र गल्छीलगायत क्षेत्रका महत्वपूर्ण पुल क्षतिग्रस्त हुँदा सडक सञ्जाल व्यापक रूपमा विच्छेद भएको छ।
सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन अर्को सूचना नभएसम्म पूर्ण रूपमा बन्द गरेको छ। यसअघि पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा समेत सार्वजनिक सवारी सञ्चालन रोकिएको थियो।
बाढीले रसुवाको आर्थिक तथा प्रशासनिक संरचनामा पनि ठूलो क्षति पुर्याएको छ। रसुवामा रहेका नौवटा वाणिज्य बैंकका शाखा बाढीले बगाएको र ती शाखामा कार्यरत करिब २६ कर्मचारीसँग सम्पर्क हुन नसकेको नेपाल बैंकर्स संघले जनाएको छ। रसुवा भन्सार कार्यालय टिमुरेका १५ कर्मचारी पनि साँझसम्म सम्पर्कमा आएका थिएनन्।
निर्माण सम्पन्न भएर परीक्षणको तयारीमा रहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत ६० जनासँग समेत सम्पर्क हुन नसकेको आयोजनाले जनाएको छ। उनीहरूमध्ये ३५ जना सुरुङभित्र काम गरिरहेका र २५ जना इञ्जिनियर, चालक तथा अन्य कर्मचारी रहेको प्रारम्भिक विवरण छ।
भन्सार क्षेत्रमा समेत ठूलो क्षति भएको छ। रसुवा भन्सार यार्डमा चेकजाँचका लागि राखिएका विद्युतीय सवारीसाधन र ढुवानी ट्रक गरी ३०० भन्दा बढी सवारी बगेको प्रारम्भिक अनुमान छ। वास्तविक क्षतिको पूर्ण विवरण भने संकलन हुन बाँकी छ।
सरकारले प्रभावित क्षेत्रमा उद्धार, उपचार र राहतका लागि सबै संयन्त्र परिचालन गरेको छ। रसुवा र नुवाकोटका जिल्ला विपद व्यवस्थापन कोषमा तत्काल एक करोड रुपैयाँका दरले र धादिङका लागि ५० लाख रुपैयाँ निकासा गरिएको छ। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरसहित पाँच अस्पताललाई घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।
नेपाल र चीनबीच विपदसँग सम्बन्धित मौसमी विवरण तथा पूर्वानुमान आदानप्रदानमा सहकार्य गर्ने सहमति पनि भएको छ। नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिको उपस्थितिमा जल तथा मौसम विज्ञान विभाग र चिनियाँ मौसम विज्ञान निकायका अधिकारीबीच भएको भर्चुअल बैठकले मौसम गतिविधि तथा पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलाई व्यवस्थित बनाउने सहमति गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरी बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन्। मोदीले उद्धार तथा राहत कार्यका लागि नेपाल र भारतका टोलीबीच नजिकबाट समन्वय भइरहेको बताएका छन्।
बाढीको वास्तविक कारण भने अझै अन्तिम रूपमा पुष्टि भएको छैन। प्रारम्भिक अध्ययनमा रसुवामा ठूलो वर्षा नभएको र सिचाङतर्फको भूभागमा बढी वर्षा देखिएको मौसमविदहरूले बताएका छन्। प्रारम्भिक घडीमा हिमताल फुटेको वा अन्य कारणले बाढी आएको हुन सक्ने अनुमान गरिए पनि यसको वैज्ञानिक पुष्टि हुन बाँकी छ।
बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म ठूलो मानवीय तथा पूर्वाधार क्षति पुर्याइसकेको अवस्थामा खोज तथा उद्धार कार्य अझै जारी छ। सञ्चार सम्पर्क पुनःस्थापित हुँदै जाँदा मृतक, घाइते, उद्धार गरिएका र सम्पर्कविहीन व्यक्तिको संख्या परिवर्तन हुन सक्ने भएकाले सरकारी निकायले आधिकारिक विवरणलाई मात्र आधार बनाउन आग्रह गरेका छन्।





