भोटेकोशी बाढीपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द, मृतक ५५ पुगे; ८३ सुरक्षाकर्मी सम्पर्कविहीन

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा व्यापक क्षति पुगेपछि सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन रोकिएको जनाएको हो। बाढीका कारण नदीको बहाव उच्च रहेको, सडक तथा पुलहरूमा क्षति पुगेको र थप जोखिम कायम रहेको अवस्थामा यस्तो निर्णय गरिएको हो।
यसैबीच भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ। नेपाल प्रहरीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा गरी ५५ जनाको शव फेला परेको जनाएको छ।
प्रहरीका अनुसार चितवनमा १८, धादिङमा १६, नुवाकोटमा ११, गोरखामा नौ र रसुवामा एक जनाको शव भेटिएको छ। खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ।
बाढीपछि ठूलो संख्यामा सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार रसुवामा ४४ जना सैनिक अधिकारीसँग सम्पर्क हुन सकेको छैन। बुधबार बिहान ८:४० बजेको बाढीपछि उनीहरूको अवस्था यकिन हुन नसकेको र खोजी कार्य जारी रहेको उनले बताएका छन्।
त्यसैगरी रसुवामा नेपाल प्रहरीका ३० र सशस्त्र प्रहरी बल नेपालका नौ सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ। यसअनुसार तीनवटै सुरक्षा निकायका गरी कम्तीमा ८३ जना सुरक्षाकर्मीसँग सम्पर्क स्थापित हुन सकेको छैन।
सञ्चार, विद्युत र सडक सञ्जाल अवरुद्ध भएकाले सम्पर्कविहीन सबै व्यक्तिको वास्तविक अवस्था तुरुन्त यकिन गर्न कठिन भइरहेको छ। सुरक्षा निकायले उनीहरू सुरक्षित स्थानमा पुगेको सम्भावनालाई समेत ध्यानमा राख्दै स्थल तथा हवाई माध्यमबाट खोजी जारी राखेका छन्।
भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा आएको बाढीले सडक, पुल, बजार, जलविद्युत आयोजना, बैंक, भन्सार तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। नदीको बहाव तथा थप पहिरोको जोखिम कायमै रहेकाले प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ।





