१७ भाद्र २०८३, बुधबार

रसुवा–केरुङ विपदमा नेपाल–चीन समाजको अपिल: दुवै सरकारलाई अभिभावकीय भूमिका र संयुक्त पूर्वचेतावनी संयन्त्रको आग्रह

ड्रागन मिडिया सम्वाददाता

नेपाल–चीन पारस्परिक सहयोग समाजले रसुवा–केरुङ क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र विशेषगरी चीन सरकारलाई प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनर्स्थापनामा अभिभावकीय, जिम्मेवार र उदार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

समाजले बुधबार जारी गरेको विज्ञप्तिमा चीनको सिचाङ स्वायत्त क्षेत्रको केरुङ तथा नेपालको रसुवा हुँदै भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको अप्रत्याशित विपदले सीमा दुवैतर्फ जनधन, सडक, पुल, विद्युत, सञ्चार, जलविद्युत आयोजना, बजार, बस्ती तथा व्यापारिक पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको उल्लेख गरेको छ।

विपदमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन नागरिक, सुरक्षाकर्मी, पर्यटक, कर्मचारी तथा विभिन्न आयोजना र व्यवसायमा कार्यरत व्यक्तिको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ।

समाजले नेपाल सरकारलाई राज्यका सम्पूर्ण साधन, श्रोत र संयन्त्र एकीकृत रूपमा परिचालन गरी खोज, उद्धार, उपचार, राहत, अस्थायी आवास र पुनर्स्थापनालाई प्रभावकारी बनाउन आग्रह गरेको छ। प्रभावित परिवारलाई तत्काल जीवनयापन सहायता उपलब्ध गराउनुका साथै सडक, पुल, विद्युत, सञ्चार र खानेपानीलगायत अत्यावश्यक सेवा शीघ्र पुनःस्थापना गर्नुपर्नेमा जोड दिइएको छ।

चीनले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङको तहबाटै घटनाप्रति देखाएको चासो तथा उद्धार र विपद व्यवस्थापन संयन्त्रको तीव्र परिचालनलाई समाजले सकारात्मक रूपमा लिएको छ। नेपालसँग सञ्चार र समन्वय बलियो बनाउन चिनियाँ नेतृत्वबाट दिइएको निर्देशनलाई पनि सीमापार विपद व्यवस्थापनका दृष्टिले महत्वपूर्ण कदम भनिएको छ।

समाजले विशेष रूपमा चीन सरकारलाई उपलब्ध उद्धार क्षमता, प्राविधिक जनशक्ति, स्वास्थ्य सेवा, राहत सामग्री, उपकरण तथा पुनर्निर्माण अनुभव आवश्यकताअनुसार नेपालसँग साझा गर्न अनुरोध गरेको छ। केरुङ तथा आसपास रहेका नेपाली नागरिक, कैलाश मानसरोवर यात्री, पर्यटक, व्यापारी र अन्य व्यक्तिको अवस्थाबारे समयमै सूचना उपलब्ध गराउन तथा आवश्यक परे संयुक्त उद्धारको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।

केरुङ–रसुवागढी नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरीय सम्पर्कको महत्वपूर्ण मार्ग भएकाले तत्काल मानव जीवनको रक्षा गरेपछि क्षतिग्रस्त सीमा पूर्वाधारको पुनर्निर्माणका लागि दुवै देशले विशेष संयुक्त कार्ययोजना बनाउनुपर्ने समाजको धारणा छ।

विपदले नेपाल र चीनबीच स्थायी सीमापार पूर्वचेतावनी प्रणालीको आवश्यकता पनि उजागर गरेको समाजले जनाएको छ। हिमाली क्षेत्रको वर्षा, नदीको बहाव, हिमताल, पहिरो तथा मौसमसम्बन्धी विवरण वास्तविक समयमा आदानप्रदान गर्ने संयन्त्र स्थापना गर्न सके माथिल्लो क्षेत्रमा उत्पन्न असामान्य अवस्थाको सूचना तल्लो तटीय नेपाली बस्तीमा समयमै पुर्‍याएर भविष्यमा ठूलो मानवीय क्षति कम गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

समाजले हालको बाढीको वास्तविक कारण वैज्ञानिक रूपमा पुष्टि हुन बाँकी रहेकाले अनुमान, भ्रम वा आरोपभन्दा नेपाल र चीनका विज्ञ सम्मिलित संयुक्त प्राविधिक अध्ययन आवश्यक रहेको जनाएको छ। विपदलाई राजनीतिक व्याख्याभन्दा मानवीय सुरक्षा, वैज्ञानिक अध्ययन र पारस्परिक सहयोगका आधारमा हेर्नुपर्नेमा जोड दिइएको छ।

“नेपाल र चीन सुखद समयमा मात्र होइन, कठिन घडीमा पनि एकअर्काको साथमा उभिने निकट छिमेकी हुन्,” समाजले भनेको छ, “अहिलेको संकट दुई देशबीचको मित्रतालाई व्यवहारमा प्रमाणित गर्ने समय हो।”

समाजले नेपाल र चीनका सरकारी निकाय, सुरक्षा तथा उद्धारकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायले गरिरहेको प्रयासप्रति सम्मान व्यक्त गर्दै यो विपदलाई भविष्यको सीमापार जोखिम न्यूनीकरण र संस्थागत सहकार्यलाई थप मजबुत बनाउने अवसरका रूपमा लिन आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button