रास्वपाले बाढीपीडितका लागि ५० लाख राहत दिने, उत्तरगया स्कुलका ५४ बालबालिका सकुशल

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। यसैबीच नुवाकोटको बेत्रावती आँगुटारस्थित उत्तरगया स्कुलबाट बाढीका बेला सुरक्षित स्थानतर्फ भागेका ५४ जना बालबालिका सकुशल फेला परेका छन्।
रास्वपाको बुधबार आकस्मिक रूपमा बसेको केन्द्रीय सचिवालय बैठकले सांसद तथा पार्टीका तर्फबाट एकमुष्ट ५० लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन्।
बैठकले विपद प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम गर्दा राज्यको एकद्वार प्रणालीलाई प्राथमिकता दिनसमेत पार्टीपंक्तिलाई निर्देशन दिएको छ। स्थानीय प्रशासन तथा सरकारी संयन्त्रसँग समन्वय गरेर मात्र राहत र सहयोगका गतिविधि सञ्चालन गर्न भनिएको छ।
विपदका बेला अपुष्ट सूचना तथा अफवाह फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै रास्वपाले राज्यका आधिकारिक निकायबाट पुष्टि भएका सूचना मात्र सम्प्रेषण गर्न नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
यसैबीच बेत्रावती आँगुटारस्थित उत्तरगया स्कुलका ५४ जना बालबालिका बाढीबाट जोगिन भिर चढेर जंगलतर्फ पुगेका थिए। स्थानीयवासीले उनीहरूको उद्धार गरी विदुर नगरपालिका–११ स्थित शान्ति कल्याण स्कुलमा सुरक्षित रूपमा राखेका छन्।
५४ बालबालिकामध्ये १० जनालाई अभिभावकले जिम्मा लिएर घर लगिसकेका छन् भने बाँकी बालबालिकालाई लिन अभिभावकहरू आउने क्रम जारी रहेको जनाइएको छ।
भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो क्षति पुगेपछि सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
प्रशासनले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ। बाढीका कारण सडक तथा पुलमा क्षति पुगेको र नदी तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।





