१७ भाद्र २०८३, बुधबार

बाढीपीडितको उद्धार, उपचार र पुनर्स्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ : प्रधानमन्त्री शाह

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत र पुनर्स्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन्। बुधबार साँझ फेसबुकमार्फत देशवासीका नाममा सन्देश सार्वजनिक गर्दै उनले विपदको कठिन घडीमा राज्य आफ्ना सम्पूर्ण साधन र श्रोतसहित प्रभावित नागरिकको साथमा रहेको बताएका हुन्।

प्रधानमन्त्री शाहले बुधबार बिहान अचानक आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख गर्दै घटनाले सिङ्गो देशलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन्। उनले हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विपदको जानकारी प्राप्त भएलगत्तै सरकारले राज्यका सम्पूर्ण शक्ति र संयन्त्रलाई खोज तथा उद्धारमा परिचालन गरेको प्रधानमन्त्रीले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, त्यसपछि राष्ट्रिय परिषद र मन्त्रीपरिषद बैठक बसेर उद्धार, खोज, उपचार र राहतका लागि आवश्यक निर्णय गरिएको उनले जानकारी दिएका छन्।

प्रधानमन्त्रीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका टोली प्रभावित क्षेत्रमा परिचालित छन्। नेपाली सेनाका हेलिकोप्टरसहित हवाई उद्धारलाई तीव्र बनाइएको र हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको उनले बताएका छन्। घाइतेलाई तत्काल काठमाडौं तथा अन्य उपचार केन्द्रमा ल्याएर उपचारको व्यवस्था गरिएको छ। रातभर पनि उद्धार कार्य जारी रहने उनले स्पष्ट पारेका छन्।

घाइतेको सहज तथा निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा काठमाडौं उपत्यकाका अन्य ठूला अस्पताललाई पनि तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहले बताएका छन्। प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीका टोली पठाइएको र राष्ट्रिय ट्रमा सेन्टर तथा सुरक्षा निकायका स्वास्थ्य टोलीसमेत परिचालन गरिएको छ।

नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको उल्लेख गर्दै प्रधानमन्त्रीले औषधि, रगत तथा आपतकालीन स्वास्थ्य सेवाको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य निकाय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटलगायत संस्थासँग समन्वय भइरहेको बताएका छन्।

सरकारले प्रभावित क्षेत्रका संघीय संसद सदस्यहरूसँग समेत परामर्श गरी स्थानीय तहमा आवश्यकताअनुसार सहयोग पुर्‍याउने व्यवस्था मिलाइरहेको उनले जानकारी दिएका छन्। सम्पर्कविहीन नागरिकको खोजी अझ तीव्र बनाइने, घाइते तथा मृतकको विस्तृत विवरण संकलन गरिने र बाढीबाट भएको भौतिक क्षतिको पूर्ण मूल्याङ्कन गरिने प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री शाहका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएका छन्। ती क्षेत्रमा खानेकुरा, सुरक्षित खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने उनले बताएका छन्।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत, खानेपानीलगायत अत्यावश्यक पूर्वाधारलाई प्राथमिकताका साथ पुनर्निर्माण तथा पुनःसञ्चालन गरिने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापना गरिने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका छन्।

“यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र श्रोतका साथ तपाईंहरूकै साथमा छ,” प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई सम्बोधन गर्दै भनेका छन्। उद्धार, उपचार, खानपिन र बसोबासको जिम्मेवारी सरकारले लिने भन्दै उनले पीडितलाई धैर्य राख्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक संघसंस्था, उद्योगी व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकलाई पनि सरकारी राहत तथा उद्धार अभियानमा समन्वय गरेर सहयोग गर्न आग्रह गरेका छन्। विपदको सामना गर्न सम्पूर्ण देश एकजुट हुनुपर्ने उल्लेख गर्दै उनले प्रभावित नागरिकलाई पुनः सामान्य जीवनमा फर्काउन सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button