१७ भाद्र २०८३, बुधबार

पहिलो पार्टी नेपालद्वारा रसुवा–नुवाकोट विपदमा उद्धार र राहतमा जुट्न अपिल

ड्रागन मिडिया सम्वाददाता

पहिलो पार्टी नेपालले रसुवा तथा नुवाकोटमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत, उपचार तथा सुरक्षित पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र तीव्र रूपमा परिचालन गर्न माग गरेको छ।

पार्टीका संयोजक गोविन्द बोहरा “ब्रह्माण्ड”द्वारा भदौ १० गते जारी प्रेस विज्ञप्तिमा प्राकृतिक विपदमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। घाइते तथा प्रभावित नागरिकको शीघ्र उद्धार, उपचार र सुरक्षित पुनर्स्थापनालाई उच्च प्राथमिकता दिन सम्बन्धित सबै निकायसँग आग्रह गरिएको छ।

विज्ञप्तिमा प्रारम्भिक विवरणअनुसार भोटेकोशी नदीमा तिब्बततर्फबाट अचानक ठूलो मात्रामा पानीको बहाव आएको देखिए पनि घटनाको वास्तविक कारण अझै अध्ययनकै क्रममा रहेको उल्लेख छ। पार्टीले बाढीको कारण, वास्तविक क्षति र थप जोखिमबारे वैज्ञानिक तथा तथ्यगत अध्ययन गरी सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

पहिलो पार्टी नेपालले आफ्ना सदस्य, समर्थक, शुभेच्छुक तथा स्वयंसेवकलाई स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनासँग समन्वय गरेर उद्धार, राहत तथा मानवीय सेवामा सक्रिय हुन अपिल गरेको छ।

पार्टीले स्वयंसेवकलाई आफ्नै सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न र सुरक्षा निकायको निर्देशनबिना जोखिमयुक्त नदी, खोल्सा, पहिरो वा बाढीग्रस्त क्षेत्रमा प्रवेश नगर्न विशेष आग्रह गरेको छ।

प्रभावित नागरिकको खोज तथा उद्धारमा सुरक्षा निकायलाई सहयोग गर्ने, सुरक्षित स्थानमा सारिएका नागरिकलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउने, घाइते तथा बिरामीलाई उपचारस्थलसम्म पुर्‍याउन सहयोग गर्ने र बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिको उद्धारलाई विशेष प्राथमिकता दिन पार्टीले आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ।

त्यसैगरी खाद्यान्न, सुरक्षित खानेपानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री संकलन र वितरणमा सहयोग गर्न, प्रभावित परिवार तथा उद्धार निकायबीच सूचना आदानप्रदानमा सहजीकरण गर्न र सामाजिक सञ्जालमा अपुष्ट सूचना, अफवाह तथा त्रास फैलाउने सामग्री सम्प्रेषण नगर्न आग्रह गरिएको छ।

पहिलो पार्टी नेपालले सरकारसँग प्रभावित क्षेत्रमा एकीकृत र युद्धस्तरको खोज, उद्धार तथा राहत अभियान सञ्चालन गर्न माग गरेको छ। प्रभावित क्षेत्रको तत्काल हवाई तथा स्थल निरीक्षण गरी वास्तविक क्षतिको विवरण सार्वजनिक गर्न, सम्पर्कविहीन तथा बेपत्ता नागरिकको खोजीलाई सर्वोच्च प्राथमिकता दिन र घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्नुपर्ने पार्टीको माग छ।

जोखिमयुक्त नदी तथा तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, औषधि र अस्थायी आवासको तत्काल व्यवस्था गर्न तथा भोटेकोशी–त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा प्रभावकारी पूर्वसूचना र उच्च सतर्कता प्रणाली सञ्चालन गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

पार्टीले घटनाको कारण, क्षति र सम्भावित थप जोखिमबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसँग समन्वय गरी वैज्ञानिक अध्ययन गर्नुपर्नेमा जोड दिएको छ। भविष्यमा यस्ता हिमाली प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरण गर्न हिमताल, हिमनदी, नदी प्रणाली तथा जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी र पूर्वसूचना प्रणालीलाई अत्याधुनिक बनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

“प्राकृतिक विपत्तिको यस कठिन घडीमा हामी सबै राजनीतिक मतभेदभन्दा माथि उठेर नेपाली नागरिकको जीवनरक्षाका लागि एकजुट हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।

पहिलो पार्टी नेपालले “पहिले मानव जीवन, त्यसपछि मात्र राजनीति” भन्ने मानवीय भावनाका साथ उद्धार तथा राहत अभियानमा सहयोग गर्न सबै सदस्य, समर्थक, शुभेच्छुक तथा आम नागरिकलाई अपिल गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button