नेपालतर्फको विपदपछि केरुङ नाकामा आपतकालीन प्रतिक्रिया सक्रिय, चीनद्वारा उद्धार र पुनर्निर्माणका लागि ठूलो सहायता परिचालन

ड्रागन मिडिया समाचार कक्ष
नेपालमा गएको भीषण प्राकृतिक विपदको प्रभाव चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकासम्म पुगेपछि चिनियाँ अधिकारीहरूले व्यापक उद्धार तथा राहत अभियान शुरु गरेका छन्। बुधबार बिहान नेपालको विपदबाट केरुङ नाकामा समेत गम्भीर प्रभाव परेपछि चीनले भूगर्भीय विपद तथा राहत व्यवस्थापनका उच्चस्तरीय आपतकालीन संयन्त्र सक्रिय गरेको हो।
चीनको प्राकृतिक श्रोत मन्त्रालयले भूगर्भीय विपदका लागि चार तहको आपतकालीन प्रतिक्रिया प्रणालीअन्तर्गत दोस्रो उच्च स्तरको ‘लेभल–२’ प्रतिक्रिया सक्रिय गरेको छ। मन्त्रालयले उद्धार कार्यको निर्देशन तथा थप पहिरो वा अन्य सहायक विपद रोकथामका लागि प्रभावित क्षेत्रमा विशेष कार्यदलसमेत पठाएको छ।
राष्ट्रिय विपद रोकथाम, न्यूनीकरण तथा राहत आयोग र आपतकालीन व्यवस्थापन मन्त्रालयले पनि संयुक्त रूपमा विपद राहतका लागि ‘लेभल–२’ आपतकालीन प्रतिक्रिया सक्रिय गरेका छन्।
चिनियाँ केन्द्रीय निकायले प्रभावित क्षेत्रमा उद्धार, स्थानान्तरण र अस्थायी बसोबासका लागि ३० हजार थान राहत सामग्री पठाउने व्यवस्था गरेको छ। ती सामग्रीमा पाल, चुलो, कपडा, सिरक, फोल्डिङ बेड तथा चिस्यानबाट जोगाउने सामग्री समावेश छन्।
चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले सिचाङमा आपतकालीन उद्धार तथा राहत कार्यका लागि १२ करोड युआन, करिब १ करोड ७६ लाख ९० हजार अमेरिकी डलर बराबरको केन्द्रीय प्राकृतिक विपद राहत कोष उपलब्ध गराएका छन्।
त्यसैगरी राष्ट्रिय विकास तथा सुधार आयोगले विपदपछिको आपतकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि केन्द्रीय बजेटबाट थप १० करोड युआन छुट्याएको छ।
केरुङ काउन्टीको आपतकालीन व्यवस्थापन निकायका अनुसार विपदका कारण चिनियाँ भूभागबाट केरुङ सीमा नाकातर्फ जाने सडक अवरुद्ध भएका छन्। सञ्चार तथा विद्युत आपूर्तिसमेत विच्छेद भएको छ।
केरुङ नाका नेपाल र चीनलाई स्थलमार्गबाट जोड्ने प्रमुख व्यापारिक तथा आवागमन केन्द्रमध्ये एक हो। विपदले नाकाको सडक, सञ्चार र विद्युत पूर्वाधार प्रभावित बनाएपछि चिनियाँ अधिकारीहरूले उद्धारसँगै दोस्रो चरणको विपद रोकथाम र पूर्वाधार पुनःस्थापनालाई पनि प्राथमिकतामा राखेका छन्।





