१७ भाद्र २०८३, बुधबार

सी चिनफिङद्वारा केरुङ विपदमा ‘सम्पूर्ण शक्ति’ परिचालन गर्न निर्देशन, उपप्रधानमन्त्री चाङ घटनास्थलमा

ड्रागन मिडिया समाचार कक्ष

चीनका राष्ट्रपति सी चिनफिङले नेपालतर्फ उत्पन्न प्राकृतिक विपदको प्रभावबाट सिचाङ स्वायत्त क्षेत्रको केरुङ सीमा नाकामा मानवीय क्षति र मानिसहरू सम्पर्कविहीन भएपछि खोज, उद्धार तथा राहतमा सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बुधबार बिहान करिब १०ः३० बजे नेपालतर्फ गएको पहिरो तथा त्यससँग सम्बन्धित विपदको प्रभाव केरुङ काउन्टीस्थित सीमा नाकामा पुगेपछि हताहती भएको र केही मानिस सम्पर्कविहीन भएका छन्। राष्ट्रपति सीले सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई तीव्र बनाउन, जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न र घाइतेलाई समयमै उपचार उपलब्ध गराएर मानवीय क्षति न्यूनतम बनाउन निर्देशन दिएका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले प्रभावित क्षेत्रमा निगरानी र पूर्वचेतावनी प्रणाली थप मजबुत बनाउन, वैज्ञानिक आधारमा उद्धार सञ्चालन गर्न तथा दोस्रो चरणमा उत्पन्न हुन सक्ने पहिरो, बाढी वा अन्य विपदबाट जोगिन विशेष सतर्कता अपनाउन भनेका छन्।

चीन हाल बाढी नियन्त्रणको संवेदनशील अवधिमा रहेको उल्लेख गर्दै राष्ट्रपति सीले स्थानीय सरकार तथा सम्बन्धित निकायलाई सबैभन्दा खराब सम्भावित अवस्था र चरम परिस्थितिलाई समेत ध्यानमा राखेर तयारी गर्न निर्देशन दिएका छन्। बाढी तथा आँधी नियन्त्रणका उपाय पूर्ण रूपमा कार्यान्वयन गर्न, जोखिमयुक्त क्षेत्र पहिचान गर्न र ठूला तथा विनाशकारी विपद रोक्न निर्णायक कदम चाल्नुपर्ने उनको निर्देशन छ।

प्रधानमन्त्री ली छ्याङले पनि सम्पर्कविहीन तथा प्रभावित व्यक्तिको वास्तविक संख्या तत्काल यकिन गर्न र खोज, उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

लीले विशेष रूपमा चीनको विदेश मन्त्रालयलाई नेपाललगायत सम्बन्धित देशसँग सञ्चार र समन्वय सुदृढ गर्न, विपदसम्बन्धी सूचना समयमै आदानप्रदान गर्न तथा उद्धार र राहत कार्यलाई संयुक्त रूपमा प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएका छन्।

यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य तथा उपप्रधानमन्त्री चाङ कुओछिङ सम्बन्धित मन्त्रालय र निकायका अधिकारीहरूको टोलीको नेतृत्व गर्दै प्रभावित क्षेत्र पुगेका छन्। उनले घटनास्थलमै खोज, उद्धार तथा विपद प्रतिक्रिया कार्यको निर्देशन र समन्वय गरिरहेका छन्।

सिचाङका सम्बन्धित निकायले ठूलो संख्यामा उद्धार जनशक्ति तथा उपकरण परिचालन गरिसकेका छन्। खोज तथा उद्धार, जोखिमयुक्त क्षेत्रबाट नागरिकको स्थानान्तरण, घाइतेको उपचार, सडक तथा सञ्चार पुनःस्थापना र थप भूगर्भीय जोखिमको निगरानी एकसाथ अघि बढाइएको छ।

यसअघि चीनले केरुङ क्षेत्रमा भूगर्भीय विपद र राहतका लागि दोस्रो उच्च तहको आपतकालीन प्रतिक्रिया सक्रिय गर्दै ३० हजार थान केन्द्रीय राहत सामग्री पठाउने व्यवस्था गरेको थियो। आपतकालीन राहतका लागि १२ करोड युआन र विपदपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप १० करोड युआन केन्द्रीय सहायता पनि छुट्याइएको छ।

नेपाल र चीनको सीमाक्षेत्रमा एकैसाथ प्रभाव परेको यस विपदपछि चिनियाँ नेतृत्वले नेपालसँग तत्काल सूचना आदानप्रदान र समन्वयलाई उच्च प्राथमिकतामा राखेको देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button