भोटेकोशी बाढीपीडितका लागि भारतको पहिलो राहत काठमाडौं आइपुग्यो, सी–१३०जे विमानबाट १० टन सामग्री हस्तान्तरण

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि भारतले पठाएको पहिलो चरणको मानवीय सहायता बुधबार राति काठमाडौं आइपुगेको छ। भारतीय वायुसेनाको सी–१३०जे सुपर हर्कुलस सैन्य परिवहन विमानले १० टन राहत तथा अत्यावश्यक स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो।
यसअघि बिहीबार बिहान सी–१७ ग्लोबमास्टर–३ विमानमार्फत राहत सामग्री ल्याउने प्रारम्भिक तयारी गरिएको थियो। तर भारतले राहत अभियानलाई तीव्र बनाउँदै बुधबार राति नै सी–१३०जे विमानबाट पहिलो खेप काठमाडौं पठाएको हो।
भारतीय वायुसेनाको विमान भारतको हिन्डन एयर फोर्स स्टेसनबाट राहत सामग्री बोकेर काठमाडौं आएको थियो। विमानबाट ल्याइएका सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ।

पहिलो खेपमा करिब १० टन मानवीय सहायता तथा विपद राहत सामग्री र अत्यावश्यक औषधि समावेश छन्। राहत सामग्रीमा अस्थायी आश्रयका सामग्री, कम्बल, सरसफाइ सामग्री, सौर्य बत्ती तथा विभिन्न औषधि रहेका छन्।
भारतले प्रभावित क्षेत्रको आवश्यकता र नेपाल सरकारसँगको समन्वयका आधारमा थप मानवीय सहायता परिचालन गर्ने तयारीसमेत गरेको छ। भारतीय वायुसेनाका ठूला सैन्य परिवहन विमानलाई आवश्यकताअनुसार थप राहत तथा उद्धार सहयोगका लागि प्रयोग गर्न सकिने जनाइएको छ।

यसअघि बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै बाढीबाट भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका थिए। उनले विपदको कठिन अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएका थिए। त्यसको केही घण्टामै राहत सामग्रीको पहिलो खेप काठमाडौं आइपुगेको हो।
बुधबार बिहान भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार तथा राहत अभियान जारी छ।
भारतबाट आएको पहिलो राहत खेपले बाढी प्रभावित नागरिकका लागि तत्काल आवश्यक औषधि, अस्थायी आश्रय तथा आधारभूत सामग्री उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यससँगै यसअघि बिहीबार बिहान सी–१७ ग्लोबमास्टर–३ विमान आउने भनिएको प्रारम्भिक उडान योजनामा परिवर्तन भएको छ। भारतबाट पहिलो मानवीय सहायता उडान बुधबार राति नै भारतीय वायुसेनाको सी–१३०जे सुपर हर्कुलस विमानमार्फत सम्पन्न भएको हो।





