१७ भाद्र २०८३, बुधबार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ ट्रकबाट आठ टन राहत सामग्री पठाइयो

ड्रागन मिडिया सम्वाददाता

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत तथा मानवीय सहायता सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको छ।

राहत सामग्री बिहीबार राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो। बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले सरकारले नेपाली सेनाका सवारीसाधन प्रयोग गरी राहत ढुवानी गरेको जनाएको छ।

प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, सोलार बत्तीका ५०० थान प्लेट तथा ३० केभिए क्षमताको एक थान जेनेरेटरलगायत सामग्री रहेका छन्।

बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत, सञ्चार, सडक तथा अन्य आधारभूत सेवामा अवरोध पुगेकाले अस्थायी आवास, प्रकाश, ऊर्जा तथा दैनिक जीवनका लागि आवश्यक सामग्रीलाई प्राथमिकताका साथ पठाइएको हो।

राहत सामग्रीको व्यवस्थापन तथा ढुवानी गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा गरिएको जनाइएको छ। सरकारले प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री शीघ्र पुर्‍याउन सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रलाई निरन्तर परिचालन गरिरहेको छ।

सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत, उपचार, अस्थायी बसोबास र पुनःस्थापनाका कामलाई तीव्र रूपमा अघि बढाइएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button