१७ भाद्र २०८३, बुधबार

केरुङ नाकामा ३ जनाको मृत्यु, २६५ बेपत्ता; सी चिनफिङद्वारा सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन

ड्रागन मिडिया समाचार कक्ष

नेपालतर्फ गएको भीषण पहिरो तथा बाढीको प्रभाव चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकासम्म पुगेपछि तीन जनाको मृत्यु भएको र २६५ जना बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। चीनका राष्ट्रपति सी चिनफिङले खोज, उद्धार र राहतका लागि सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन्।

घटनास्थलमा स्थापना गरिएको उद्धार तथा विपद प्रतिक्रिया मुख्यालयका अनुसार बुधबार राति ८ बजेसम्म केरुङ नाका क्षेत्रमा तीन जनाको मृत्यु पुष्टि भएको छ भने २६५ जना अझै बेपत्ता छन्। अधिकारीहरूले हताहती तथा प्रभावितहरूको वास्तविक संख्या पुष्टि गर्ने काम जारी रहेको बताएका छन्।

राष्ट्रपति सीले बेपत्ता व्यक्तिको खोजीलाई उच्च प्राथमिकता दिन, जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न र घाइतेलाई समयमै उपचार उपलब्ध गराएर मानवीय क्षति न्यूनतम बनाउन निर्देशन दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले प्रभावित क्षेत्रमा निगरानी र पूर्वचेतावनी प्रणाली सुदृढ गर्न, वैज्ञानिक आधारमा खोज तथा उद्धार सञ्चालन गर्न र थप पहिरो, बाढी वा अन्य दोस्रो चरणका विपदबाट जोगिन विशेष सतर्कता अपनाउन भनेका छन्।

चीन हाल बाढी नियन्त्रणको संवेदनशील अवधिमा रहेको उल्लेख गर्दै सीले स्थानीय सरकार तथा सम्बन्धित निकायलाई सबैभन्दा खराब सम्भावित अवस्था र चरम परिस्थितिसमेत ध्यानमा राखेर तयारी गर्न निर्देशन दिएका छन्। बाढी तथा आँधी नियन्त्रणका उपाय पूर्ण रूपमा कार्यान्वयन गर्न र सम्भावित जोखिम तथा कमजोर क्षेत्रको पहिचान गरी समयमै कारवाही गर्नुपर्ने उनको निर्देशन छ।

प्रधानमन्त्री ली छ्याङले पनि प्रभावित तथा बेपत्ता व्यक्तिको वास्तविक संख्या तत्काल यकिन गर्न र खोज, उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

लीले चीनको विदेश मन्त्रालयलाई नेपाललगायत सम्बन्धित देशसँग सञ्चार र समन्वय थप सुदृढ गर्न, विपदसम्बन्धी सूचना समयमै आदानप्रदान गर्न र उद्धार तथा राहत कार्यलाई समन्वित रूपमा अघि बढाउन भनेका छन्।

यसैबीच चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य तथा उपप्रधानमन्त्री चाङ कुओछिङ सम्बन्धित मन्त्रालय तथा निकायका अधिकारीहरूको टोलीसहित प्रभावित क्षेत्र पुगेका छन्। उनले घटनास्थलमै खोज, उद्धार र विपद प्रतिक्रिया कार्यको निर्देशन तथा समन्वय गरिरहेका छन्।

सिचाङका अधिकारीहरूले ठूलो संख्यामा उद्धार जनशक्ति तथा आवश्यक उपकरण परिचालन गरेका छन्। बेपत्ताको खोजी, जोखिमयुक्त क्षेत्रबाट नागरिकको स्थानान्तरण, घाइतेको उपचार तथा सम्भावित दोस्रो चरणका विपदको निगरानी एकसाथ अघि बढाइएको छ।

अधिकारीहरूले मृत्यु तथा बेपत्तासम्बन्धी तथ्याङ्क अझै प्रमाणीकरणको क्रममा रहेको जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button