एससीओ शिखर सम्मेलनमा सहभागी हुन सी चिनफिङ किर्गिस्तान जाने, त्यसपछि इजिप्टको राजकीय भ्रमण

ड्रागन मिडिया समाचार कक्ष
चीनका राष्ट्रपति सी चिनफिङ अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म किर्गिस्तानको बिश्केकमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२६ मा सहभागी हुने भएका छन्। सम्मेलनपछि उनले किर्गिस्तान र इजिप्टको राजकीय भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
किर्गिस्तानका राष्ट्रपति सदिर जापारोभ र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीको निमन्त्रणामा राष्ट्रपति सीले दुवै देशको भ्रमण गर्न लागेका हुन्।
यस वर्ष एससीओ स्थापनाको २५औँ वार्षिकोत्सव परेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन च्येनका अनुसार बिश्केक शिखर सम्मेलनमा राष्ट्रपति सीले सहभागी देशका नेतासँग बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा विभिन्न क्षेत्रमा एससीओ सहकार्य गहिरो बनाउने तथा प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा विस्तृत विचार आदानप्रदान गर्नेछन्।
उनका अनुसार सम्मेलनले एससीओको उच्च गुणस्तरीय विकास तथा विश्व शासन प्रणालीको सुधार र विकासमा संगठनको भूमिकालाई थप दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।
किर्गिस्तान भ्रमणका क्रममा राष्ट्रपति सी र राष्ट्रपति जापारोभबीच द्विपक्षीय सम्बन्ध, प्रमुख सहकार्य क्षेत्र तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिबारे विस्तृत वार्ता हुनेछ। सीले विभिन्न राजकीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन्।
चीनले यस भ्रमणलाई चीन–किर्गिस्तानबीच पारस्परिक लाभका क्षेत्रमा उच्च गुणस्तरीय सहकार्य विस्तार गर्ने, साझा भविष्यसहितको समुदायलाई थप गहिरो बनाउने र दुवै देशका जनतालाई प्रत्यक्ष लाभ पुर्याउने अवसरका रूपमा लिएको प्रवक्ता लिनले बताए।
किर्गिस्तानपछि राष्ट्रपति सी इजिप्ट जानेछन्। करिब एक दशकपछि हुन लागेको उनको यो पहिलो इजिप्ट राजकीय भ्रमण हो। भ्रमण चीन र इजिप्टबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवसँग पनि मेल खानेछ।
इजिप्ट भ्रमणका क्रममा राष्ट्रपति सी र राष्ट्रपति अल–सिसीबीच द्विपक्षीय सम्बन्ध तथा साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा विस्तृत छलफल हुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
चीनले यस भ्रमणमार्फत इजिप्टसँगको परम्परागत मित्रता अझ सुदृढ बनाउने, पारस्परिक रणनीतिक समर्थन बलियो बनाउने, लाभदायी सहकार्य विस्तार गर्ने तथा दुवै देशको आधुनिकीकरण प्रक्रियामा एकअर्कालाई सहयोग गर्ने अपेक्षा गरेको छ।
चिनियाँ पक्षले सीको भ्रमणले चीन–इजिप्ट सम्बन्धमा नयाँ अध्याय खोल्नुका साथै क्षेत्रीय तथा विश्व शान्ति र स्थिरतामा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।





