भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४७ शवको पहिचान खुल्न बाँकी
ड्रागन मिडिया सम्वाददाता
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका र ७ बालक रहेका छन्। थप ४७ शवको भने अझै पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी छ। रसुवामा तीन पुरुषको शव भेटिएको छ भने नुवाकोटमा ६ महिला र ७ पुरुष गरी १३ जनाको शव फेला परेको छ। धादिङमा १० महिला, १० पुरुष र एक बालिकासहित २७ जनाको शव भेटिएको छ, जसमध्ये ६ जनाको पहिचान खुल्न बाँकी छ।
गोरखामा दुई महिला, आठ पुरुष र एक बालकसहित १९ जनाको शव फेला परेको छ। त्यहाँ भेटिएका आठ शवको पहिचान हुन सकेको छैन। चितवनमा सबैभन्दा बढी ६४ जनाको शव भेटिएको छ। तीमध्ये १३ महिला, १८ पुरुष, एक बालिका र चार बालकको पहिचान खुलेको छ भने २८ शवको पहिचान हुन बाँकी छ।
त्यसैगरी तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका र एक बालकसहित नौ जनाको शव भेटिएको छ, जसमध्ये एक जनाको पहिचान खुल्न सकेको छैन। नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका र एक बालकसहित २२ जनाको शव फेला परेको छ। त्यहाँ चार शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
हालसम्म प्राप्त विवरणअनुसार रसुवामा तीन, नुवाकोटमा १३, धादिङमा २७, गोरखामा १९, चितवनमा ६४, तनहुँमा नौ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ। मृतकको पहिचान तथा बाढी प्रभावित क्षेत्रमा खोजी र उद्धारसम्बन्धी काम जारी रहेको छ।





