भोटेकोशी बाढीका मृतकको खोजी जारी, चितवनमा ६४ शव फेला

ड्रागन मिडिया सम्वाददाता
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको खोजी कार्य जारी छ। बाढीले बगाएका व्यक्तिको खोजीका लागि त्रिशूली र नारायणी नदीमा बिहीबार बिहानैदेखि सुरक्षा निकायका टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवन क्षेत्रमा हालसम्म ६४ शव फेला परेका छन्। फेला परेकामध्ये केही शव सग्लो अवस्थामा छन् भने केही मानव शरीरका अङ्गमात्र भेटिएका छन्। बरामद शव तथा मानव अवशेषलाई पहिचान र आवश्यक कानुनी प्रक्रियाका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
प्रहरी उपरीक्षक पौडेलका अनुसार तनहुँमा फेला परेका नौ शवसमेत चितवन ल्याइएको थियो। तर भरतपुर अस्पतालको शवगृहमा पर्याप्त ठाउँ नभएपछि ती शव पुनःतनहुँ नै फर्काइएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनार र सम्भावित क्षेत्रमा खोजीलाई निरन्तरता दिएका छन्। भोटेकोशीबाट बगेर आएका शव तथा मानव अवशेष त्रिशूली हुँदै नारायणी नदीको तल्लो क्षेत्रमा समेत भेटिन सक्ने भएकाले खोजीको क्षेत्र विस्तार गरिएको छ।
भरतपुर अस्पतालको शवगृहमा शव राख्ने क्षमता अपुग भएपछि अब फेला पर्ने शवलाई व्यवस्थापन गर्न वैकल्पिक स्थानको तयारी गरिएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक पौडेलका अनुसार एउटा औद्योगिक प्रतिष्ठानको कार्यालयलाई अस्थायी रूपमा शव व्यवस्थापनका लागि प्रयोग गर्ने तयारी भइरहेको छ।
बाढीपछि विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेकाले सुरक्षा निकायले नदी आसपासका क्षेत्रमा खोजी तीव्र बनाएका छन्। फेला परेका शवको पहिचान, परिवारसँग समन्वय र आवश्यक कानुनी प्रक्रिया पनि सँगसँगै अघि बढाइएको छ।





