रसुवा बाढीपछि ४०३ नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन, भारतीय सबैभन्दा धेरै

ड्रागन मिडिया सम्वाददाता
रसुवामा आएको विनाशकारी बाढीपछि ४०३ नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन रहेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कमा आउन नसकेकामध्ये ३४१ विदेशी र ६२ नेपाली नागरिक रहेका छन्।
बोर्डको विवरणअनुसार सम्पर्कविहीन विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्। भारतका १३३ जना पर्यटक हालसम्म सम्पर्कमा आएका छैनन्। त्यसपछि अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना पर्यटक सम्पर्कविहीन छन्।
यस्तै युक्रेनका सात, सिंगापुरका छ, दक्षिण अफ्रिकाका छ, न्युजिल्यान्डका पाँच, जापानका पाँच, जर्मनीका चार र फ्रान्सका तीन जना सम्पर्कमा आउन सकेका छैनन्। आयरल्यान्ड, नेदरल्यान्ड्स, रूस र स्पेनका दुई दुई जना तथा बेलारूस, फिनल्यान्ड, हंगेरी, इसराइल, लिथुआनिया, पोर्चुगल र फिलिपिन्सका एक एक जना पर्यटक पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
सम्पर्कविहीन कुल ४०३ जनामध्ये २०३ पुरुष र २०० महिला छन्। हालसम्म यीमध्ये कुनै पनि व्यक्ति फेला परेको वा औपचारिक रूपमा सम्पर्कमा आएको जानकारी प्राप्त नभएको पर्यटन बोर्डको विवरणमा उल्लेख छ।
बाढीपछि रसुवा तथा त्यससँग जोडिएका प्रभावित क्षेत्रमा खोजी, उद्धार र बेपत्ताको अवस्थाबारे विवरण संकलन गर्ने काम जारी छ। ठूलो संख्यामा विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेकाले सम्बन्धित दूतावास, पर्यटन निकाय, सुरक्षा संयन्त्र र स्थानीय प्रशासनबीच समन्वय आवश्यक देखिएको छ।





