१७ भाद्र २०८३, बुधबार

रसुवा बाढीपीडितका लागि अमेरिकाले ५ लाख डलर सहयोग गर्ने

ड्रागन मिडिया सम्वाददाता

अमेरिकाले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ।

अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाएका व्यक्तिका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै विपद् प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ। मन्त्रालयले राहत तथा प्रतिकार्यमा सहयोग पुर्‍याउन एक जना विपद् प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउने तयारी गरेको जनाएको छ।

अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहकार्यअन्तर्गत उक्त आर्थिक सहायता उपलब्ध गराउने भएको हो। सहयोग रकम आपत्कालीन आश्रय, अत्यावश्यक राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायता उपलब्ध गराउन प्रयोग गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्था बुझ्न तथा आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।

दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचार तथा आधिकारिक सूचनाको निगरानी गर्न, स्थानीय प्रशासनको निर्देशन पालना गर्न र सुरक्षा तथा आपत्कालीन जानकारी प्राप्त गर्न स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राममा आबद्ध हुन आग्रह गरेको छ।

रसुवाको बाढीपछि ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक सम्पर्कविहीन रहेका बेला अमेरिकाले राहत सहयोगको घोषणा गरेको हो। प्रभावित क्षेत्रमा खोजी, उद्धार, शव पहिचान तथा राहत व्यवस्थापनको काम जारी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button