१७ भाद्र २०८३, बुधबार

भोटेकोशी बाढीको दोस्रो दिन उद्धारका लागि काठमाडौंमा १७ हेलिकोप्टर तयारी अवस्थामा

ड्रागन मिडिया सम्वाददाता

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको दोस्रो दिन खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन काठमाडौंमा १७ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन्। रसुवा र नुवाकोटमा थप तीनवटा हेलिकोप्टर अघिल्लो दिनदेखि नै परिचालित अवस्थामा रहेको विमानस्थल स्रोतले जनाएको छ।

उद्धार कार्यका लागि बिहीबार बिहान काठमाडौं विमानस्थलबाट दुईवटा हेलिकोप्टर रसुवातर्फ उडेका छन्। बाढी प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार तथा राहत सामग्री ढुवानीलाई निरन्तरता दिन आवश्यक हवाई इन्धनको व्यवस्थासमेत गरिएको छ।

नेपाल आयल निगमले बुधबार साँझ एक ट्यांकर हवाई इन्धन नुवाकोटको त्रिशूली पठाएको छ। रसुवाका प्रभावित क्षेत्रमा उद्धार तथा होभरिङ गरेपछि हेलिकोप्टरहरू इन्धन भर्न नुवाकोट झर्नुपर्ने भएकाले त्यहाँबाट इन्धन आपूर्ति गर्ने व्यवस्था मिलाइएको हो।

यसैबीच, घटनास्थलको कानुनी प्रक्रिया तथा आवश्यक मुचुल्का तयार गर्न नेपाल प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा टोली रसुवा पठाउने भएको छ। विमानस्थल प्रहरीका अनुसार उक्त टोलीले उद्धारसँगै मृतक तथा अन्य घटनासम्बन्धी कानुनी प्रक्रिया व्यवस्थित गर्न सहयोग गर्नेछ।

काठमाडौंमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा हेलिकोप्टर उद्धार उडानको समन्वय भइरहेको छ। प्रभावित क्षेत्रमा सञ्चालन हुने चार्टर उद्धार उडान गृह मन्त्रालयको व्यवस्थापनमा भइरहेको र त्यसको खर्चसमेत मन्त्रालयले व्यहोर्ने जनाइएको छ।

उद्धार तथा राहत कार्यका लागि आवश्यक सामग्री काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीन स्थानमा भण्डारण गरिएको छ। विमानस्थलको हेलिप्याड र अग्नि नियन्त्रण केन्द्र आसपासका स्थानमा राहत सामग्री तयारी अवस्थामा राखिएको छ।

विमानस्थलमा तैनाथ सुरक्षा बाहिनीले राहत सामग्री संकलन, वर्गीकरण र व्यवस्थापनको काम गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा सडक सम्पर्क अवरुद्ध वा कठिन भएका स्थानमा हेलिकोप्टर उद्धार तथा राहतको प्रमुख माध्यम बनेको छ। खोजी र उद्धार कार्यसँगै प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री पुर्‍याउने काम पनि निरन्तर अघि बढाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button