आजको मौसम : बागमती, गण्डकी र लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ।
महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा सुदूरपश्चिमको तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा रातिको समयमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्नसमेत अनुरोध गरिएको छ।





