सिचाङको जिलोङमा उद्धारका लागि चिनियाँ वायुसेनाको वाई–२० विमान परिचालन

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचाङ स्वायत्त क्षेत्रअन्तर्गत सिगात्सेको जिलोङ काउन्टीमा बुधबार आएको भीषण पहिरो तथा लेदोसहितको बाढीपछि उद्धार कार्यमा सहयोग गर्न चिनियाँ जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डअन्तर्गत वायुसेनाको वाई–२० सैन्य यातायात विमान बिहीबार बिहान सिचाङतर्फ प्रस्थान गरेको छ।
सिन्ह्वाका अनुसार उक्त विमानमा पश्चिमी थिएटर कमान्डको निर्देशन तथा समन्वय टोली सवार छ। टोलीले जिलोङ काउन्टीमा जनमुक्ति सेनाका विभिन्न इकाइलाई समन्वय गरी संयुक्त खोज तथा उद्धार अभियान सञ्चालन गर्नेछ।

प्रभावित क्षेत्रमा सडक खुलाउने, बेपत्ताको खोजी गर्ने, घाइतेको उद्धार तथा उपचारमा सहयोग गर्ने, क्षतिको अवस्था मूल्याङ्कन गर्ने र जोखिममा रहेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कामलाई प्राथमिकता दिइएको छ।
वाई–२० चीनको ठूलो क्षमताको रणनीतिक सैन्य यातायात विमान हो। ठूलो संख्यामा जनशक्ति, राहत सामग्री, स्वास्थ्य उपकरण तथा भारी उद्धार सामग्री छोटो समयमा प्रभावित क्षेत्रमा पुर्याउन सक्ने भएकाले जिलोङजस्तो उच्च हिमाली र सडक सम्पर्क अवरुद्ध भएको क्षेत्रमा यसको परिचालन महत्वपूर्ण मानिएको छ।
यसअघि पनि पश्चिमी थिएटर कमान्डले जिलोङ क्षेत्रमा जनमुक्ति सेना र सशस्त्र प्रहरी बलका विभिन्न उद्धार इकाइ परिचालन गरिसकेको छ। हवाई, स्वास्थ्य, यातायात तथा इञ्जिनियरिङ इकाइलाई आवश्यकताअनुसार तत्काल परिचालन गर्न तयारी अवस्थामा राखिएको छ।
नेपालसँग जोडिएको जिलोङ सीमाक्षेत्रमा आएको पछिल्लो विपद्ले यातायात, सीमा आवागमन र स्थानीय पूर्वाधारमा गम्भीर असर पारेपछि चीनले नागरिक तथा सैन्य उद्धार संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्दै खोजी र राहत कार्य तीव्र बनाएको छ।





