भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीले १८ करोड ९६ लाख रुपैयाँ सहयोग गर्ने

ड्रागन मिडिया सम्वाददाता
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित समुदायको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल १२ लाख अमेरिकी डलर अर्थात करिब १८ करोड ९६ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
आइएफआरसीका अनुसार नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा सक्रिय भइसकेका छन्। उनीहरूले खोज तथा उद्धार, प्रारम्भिक राहत वितरण, प्रभावित परिवारको आवश्यकताको पहिचान र मानवीय सहयोगका कामलाई निरन्तरता दिइरहेका छन्।
आइएफआरसीका महासचिव जगन चापागाईले भोटेकोशी बाढीको प्रतिकार्यलाई सुदृढ बनाउँदै प्रभावित समुदायसम्म तत्काल मानवीय सहायता पुर्याउन उक्त आर्थिक सहयोग उपलब्ध गराइएको बताएका छन्।
चापागाईले नेपाल रेडक्रस सोसाइटी र सम्बन्धित राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकताअनुसार थप सहयोग परिचालन गर्न आइएफआरसी तयार रहेको जनाएका छन्। प्रभावित समुदायको तत्काल आवश्यकता सम्बोधन गर्न मानवीय सहायता निरन्तर जारी रहने उनको भनाइ छ।
उनका अनुसार रेडक्रसका स्वयंसेवक अहिले बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा परिचालित छन् र प्रारम्भिक राहत, आवश्यक सामग्री वितरण तथा प्रभावित परिवारलाई सहयोग पुर्याउने कार्यमा केन्द्रित छन्।
भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवीय संस्थाले राहत सहयोग बढाउँदै लगेका छन्। खोजी तथा उद्धार कार्य जारी रहँदा विस्थापित परिवारको सुरक्षित बसोबास, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा र दीर्घकालीन पुनःस्थापना आगामी चरणका प्रमुख आवश्यकता बन्ने देखिएको छ।





