प्रधानमन्त्री शाह : भोटेकोशी बाढी प्रभावितको उद्धार तीव्र, १५ भन्दा बढी हवाई उडान सम्पन्न

ड्रागन मिडिया सम्वाददाता
देशले अकल्पनीय प्राकृतिक विपत्तिको सामना गरिरहेका बेला सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार बिहीबार बिहान ६ः३० बजेदेखि हवाई उद्धार उडान शुरु गरिएको र हालसम्म १५ भन्दा बढी उडान सम्पन्न भइसकेका छन्।
प्रधानमन्त्री शाहले थप हेलिकोप्टरसमेत उद्धारका लागि तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्।
यसैगरी टनेल क्षेत्रमा फसेका सात जना नेपाली नागरिकलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको प्रधानमन्त्रीले जनाएका छन्। उद्धारका क्रममा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइएको छ।
सरकारले प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्याउने कामलाई पनि तीव्र बनाएको जनाएको छ। जेनेरेटर, पोर्टेबल मोबाइल टावर, स्वास्थ्य सामग्री, पाल तथा फलाम र ढुंगा काट्ने उपकरणलगायत सामग्री प्रभावित क्षेत्रमा पठाइँदै छन्।
सञ्चार सम्पर्क अवरुद्ध भएका क्षेत्रमा अस्थायी मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङ सुविधा सञ्चालन गर्ने तयारी भइरहेको छ। यस्तो व्यवस्था भएपछि प्रभावित नागरिक, उद्धार टोली तथा स्थानीय प्रशासनबीच सम्पर्क स्थापना गर्न सहज हुने सरकारको अपेक्षा छ।
प्रधानमन्त्री शाहका अनुसार नुवाकोटमा अस्थायी शिविर स्थापना गरी प्रभावित नागरिकका लागि खाना र खानेपानीको व्यवस्था गरिएको छ। उद्धार तथा राहत आवश्यकताको विस्तृत अवस्था पहिचान गर्न ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षणसमेत भइरहेको छ।
ड्रोन सर्वेक्षणबाट क्षतिको क्षेत्र, फसेका नागरिकको सम्भावित अवस्थिति, अवरुद्ध सडक तथा तत्काल उद्धार आवश्यक रहेका स्थानको विवरण संकलन गर्ने काम अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ। उक्त विवरणले आगामी उद्धार तथा राहत परिचालनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकारले राज्यका सम्पूर्ण संयन्त्र खोज, उद्धार र राहत कार्यमा परिचालन गरिएको जनाउँदै प्रभावित नागरिकलाई धैर्य र संयम अपनाउन आग्रह गरेको छ।
प्रधानमन्त्री शाहले देशभित्रका नागरिक, विदेशमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त भइरहेको सहयोग र सहकार्य उल्लेख गर्दै विपदको सामना गर्न राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।
उनले आपत्कालीन अवस्थामा सहायता आवश्यक पर्ने नागरिकका लागि सम्बन्धित निकायका सम्पर्क विवरणसमेत सार्वजनिक गरेका छन्। प्रभावित क्षेत्रमा उद्धार, स्वास्थ्य सहायता, राहत तथा अन्य अत्यावश्यक सहयोग आवश्यक परे ती सम्पर्क माध्यम प्रयोग गर्न सरकारले आग्रह गरेको छ।





