१७ भाद्र २०८३, बुधबार

रसुवा बाढी प्रभावितको उद्धारमा नेपाली सेना सक्रिय, १७७ जनाको उद्धार

ड्रागन मिडिया सम्वाददाता

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा नेपाली सेना व्यापक रूपमा परिचालित भएको छ। सेनाले पाँचवटा हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रबाट मानिसको उद्धार गर्नुका साथै अत्यावश्यक राहत सामग्री ढुवानी गरिरहेको जनाएको छ।

नेपाली सेनाका अनुसार भदौ ११ गते बिहान ८ बजेसम्म हवाई तथा जमिनी मार्गबाट गरी कुल १७७ जनाको उद्धार गरिएको छ। तीमध्ये ११४ जनालाई हेलिकोप्टरमार्फत र ६३ जनालाई जमिनी मार्गबाट सुरक्षित स्थानमा सारिएको हो।

हवाई उद्धार गरिएकामध्ये भदौ १० गते ९७ जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो। बिहीबार बिहान मैलुङस्थित टनेल क्षेत्रबाट थप तीन जना र टिमुरेबाट १४ जनाको उद्धार गरिएको सेनाले जनाएको छ। बाढीका कारण सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएका क्षेत्रबाट उद्धारका लागि हेलिकोप्टरको प्रयोगलाई प्राथमिकता दिइएको छ।

बाढीको प्रभाव रसुवाबाट तल्लो तटीय क्षेत्रमा विस्तार भएपछि नुवाकोटदेखि चितवनसम्म खोज, उद्धार र राहत वितरणका लागि दुई हजारभन्दा बढी सैनिक परिचालन गरिएको छ। रातिको समयमा समेत उद्धार कार्य नरोकी नेपाली सेनाका ११ वटा टोलीले जमिनी मार्गबाट प्रभावित क्षेत्र तथा नदी किनारमा खोजी सञ्चालन गरेका थिए।

राहत सामग्रीको आपूर्ति व्यवस्थित गर्न नेपाली सेनाका ११ वटा ट्रक आवश्यक सामग्रीसहित त्रिशूलीसम्म पुर्‍याइएको छ। त्यहाँबाट हेलिकोप्टरमार्फत आवश्यकताअनुसार दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा सामग्री पुर्‍याउने व्यवस्था गरिएको छ। हालसम्म चार सटल राहत सामग्री टिमुरेसम्म पुर्‍याइसकिएको सेनाले जनाएको छ।

प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन थप सैन्य स्वास्थ्य टोलीसमेत परिचालन गरिएको छ। उद्धार गरिएका तथा घाइते व्यक्तिको त्रिशूलीमा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका बिरामीलाई आवश्यकताअनुसार थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा लैजाने तयारी गरिएको छ।

नेपाली सेनाले खोज तथा उद्धार, घाइतेको उपचार, राहत सामग्री ढुवानी र प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई एकसाथ अघि बढाएको जनाएको छ। सडक सम्पर्क पुनःस्थापित नभएसम्म हवाई र जमिनी दुवै माध्यमबाट उद्धार तथा राहत अभियानलाई निरन्तरता दिइने बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button