१७ भाद्र २०८३, बुधबार

रसुवा बाढीबारे चिनियाँ राजदूत चाङ माओमिङ : नेपाल र चीनबीच पूर्वसूचना तथा विपद प्रतिकार्य सहकार्य थप बलियो बनाउनुपर्छ

ड्रागन मिडिया सम्वाददाता

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको विनाशकारी आकस्मिक बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै चीन कठिन घडीमा नेपालसँग दृढतापूर्वक उभिएको बताएका छन्। एनटीभी वर्ल्डसँगको कुराकानीमा उनले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार, नेपाल सरकार र नेपाली जनताप्रति समवेदना व्यक्त गर्दै खोज, उद्धार र पुनःस्थापनामा चीनले सम्भव सबै सहयोग गर्ने बताए।

बाढीको उत्पत्तिबारे सोधिएको प्रश्नमा राजदूत चाङले हालसम्म उपलब्ध प्रारम्भिक सूचनाका आधारमा बुधबार बिहान नेपाली भूभागतर्फ भूकम्पीय प्रकृतिको घटना भएको र त्यसले हिमपहिरो उत्पन्न गरेपछि लेदोसहितको बाढी आएको चिनियाँ पक्षको प्रारम्भिक बुझाइ रहेको बताए। उनका अनुसार त्यस घटनाले जिलोङ–रसुवागढी सीमाक्षेत्रको दुवैतर्फ ठूलो मानवीय क्षति पुर्‍याउनुका साथै धेरै मानिस सम्पर्कविहीन भएका छन्।

तर उनले प्रस्तुत गरेको विवरणलाई चिनियाँ पक्षको प्रारम्भिक आकलनका रूपमा बुझ्नुपर्ने देखिन्छ। विपदको वास्तविक भौगोलिक स्रोत, भूकम्पीय संकेतको प्रकृति, हिम तथा चट्टान पतनको क्रम र बाढी निर्माणको वैज्ञानिक कारणबारे संयुक्त तथा विस्तृत अनुसन्धान आवश्यक छ।

राजदूत चाङका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले विपदलाई उच्च प्राथमिकतामा राख्दै बेपत्ताको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएका छन्। जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्ने, घाइतेको शीघ्र उपचार गर्ने र मानवीय क्षति न्यूनतम बनाउने उनको निर्देशन रहेको चाङले बताए।

सीले मौसम, जलविज्ञान र भूगर्भीय जोखिमको निगरानी तथा पूर्वसूचना बलियो बनाउन, वैज्ञानिक आधारमा उद्धार सञ्चालन गर्न र दोस्रो चरणका पहिरो वा अन्य प्राकृतिक जोखिम रोक्न विशेष ध्यान दिन भनेको राजदूतले जानकारी दिए।

विपदपछि काठमाडौंस्थित चिनियाँ दूतावासले तत्काल आपत्कालीन प्रतिकार्य संयन्त्र सक्रिय गरेको चाङले बताए। नेपालका प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा चिनियाँ उद्यमको अवस्था बुझ्ने, नेपाल सरकार र सम्बन्धित निकायसँग समन्वय गर्ने तथा स्थलगत उद्धारमा सहयोग पुर्‍याउन दूतावासको टोली प्रभावित क्षेत्रमा पठाइएको उनले जानकारी दिए।

उनका अनुसार चीनतर्फ पनि ठूलो क्षति भएको भए पनि चिनियाँ पक्षले नेपालका लागि आपत्कालीन राहत सामग्री तथा नगद सहयोग उपलब्ध गराउने समन्वय तत्काल शुरु गरेको छ।

चाङले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा राज्यपरिषदका उपप्रधानमन्त्री चाङ कुओछिङ सम्बन्धित मन्त्रालयका अधिकारीसहित सिचाङ पुगेर खोज, उद्धार तथा विपद प्रतिकार्य निर्देशन गरिरहेको बताए।

उनका अनुसार चीनको विदेश मन्त्रालय, जलश्रोत मन्त्रालय, मौसम प्रशासन, आपत्कालीन व्यवस्थापन मन्त्रालय तथा सिचाङ स्वायत्त क्षेत्रका निकायले नेपाली समकक्षी संस्थासँग समन्वय संयन्त्र स्थापना गरेका छन्। ती संयन्त्रमार्फत क्षति मूल्याङ्कन, खोज तथा उद्धार, पछिल्लो प्रतिकार्य र राहत योजनाबारे समन्वय भइरहेको छ।

राजदूत चाङले नेपाल सरकार तथा सम्बन्धित निकायले विपदपछि देखाएको प्रतिकार्यको प्रशंसा गर्दै नेपाली जनताले प्रदर्शन गरेको धैर्य, साहस र उद्धार प्रयासको पनि उच्च मूल्याङ्कन गरे।

भविष्यमा यस्ता विपदबाट हुने क्षति घटाउन नेपाल र चीनले कम्तीमा तीन क्षेत्रमा तत्काल सहकार्य विस्तार गर्नुपर्ने उनको धारणा छ।

पहिलो, मौसम, जलविज्ञान र भूगर्भीय जोखिमसम्बन्धी सूचना आदानप्रदान, निगरानी र पूर्वसूचना प्रणाली थप बलियो बनाउनुपर्ने उनले बताए। सीमापार विपदसम्बन्धी सूचना आदानप्रदानको संयन्त्रलाई व्यवस्थित गर्दै जोखिमको प्रारम्भिक पहिचान, पूर्वचेतावनी र शीघ्र प्रतिकार्य सम्भव बनाउनु आवश्यक रहेको उनको भनाइ छ।

दोस्रो, आकस्मिक विपदका समयमा संयुक्त खोज तथा उद्धार गर्न सक्ने संस्थागत संयन्त्र विकास गर्नुपर्ने उनले बताए। दुवै देशका सम्बन्धित निकायबीच नियमित सम्पर्क, कार्यविधि र जिम्मेवारी स्पष्ट भए अचानक आउने बाढी, पहिरो वा हिमाली विपदमा समय बचाउन सकिने उनको धारणा छ।

तेस्रो, जनशक्ति प्रशिक्षण, प्राविधिक आदानप्रदान र आपत्कालीन सामग्रीको सहयोग विस्तार गर्नुपर्ने चाङले बताए। राष्ट्रिय तहसँगै सीमाक्षेत्रका स्थानीय सरकार र प्रतिकार्य निकायको क्षमता वृद्धि गर्न सके विपदको सुरुआती घडीमै प्रभावकारी हस्तक्षेप गर्न सकिने उनले उल्लेख गरे।

नेपाल र चीन पहाड र नदीले जोडिएका निकट छिमेकी भएको उल्लेख गर्दै राजदूत चाङले प्राकृतिक विपदले राजनीतिक सीमा नमान्ने बताए। त्यसैले सीमापार हिमाली क्षेत्रमा वास्तविक समयको निगरानी, स्वचालित पूर्वसूचना, जल तथा मौसम तथ्याङ्कको द्रुत आदानप्रदान र संयुक्त उद्धार अभ्यासलाई दीर्घकालीन संस्थागत सहकार्यको विषय बनाउनुपर्ने उनको भनाइ छ।

उनले नेपाललाई आवश्यकताअनुसार सम्भव सबै सहयोग प्रदान गर्न चीन तयार रहेको दोहोर्‍याउँदै दुई देशले सहकार्य गरेर प्राकृतिक विपदको सामना गर्ने क्षमता बढाउनुपर्ने बताए। नेपाल र चीनका नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा दुवै देशको साझा जिम्मेवारी भएको उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button