१७ भाद्र २०८३, बुधबार

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नुवाकोट प्रस्थान

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज सडकमार्ग हुँदै नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसमेत प्रभावित क्षेत्रतर्फ गएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरू आज बिहान ९ः३० बजे सडकमार्गबाट विदुरतर्फ प्रस्थान गरेका हुन्।

बुधबार रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संयन्त्र परिचालन गरेको छ।

बाढी आएको लगत्तै प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। सरकारले सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वास्थ्य संयन्त्र तथा अन्य सरोकारवाला निकायलाई आवश्यक सहजीकरण गर्दै प्रभावित क्षेत्रमा तत्काल सहायता पुर्‍याउने काम अघि बढाएको जनाएको छ।

बाढीले धेरै जिल्लामा क्षति पुर्‍याएको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह र मन्त्री लम्सालले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत वितरण, प्रभावितको पुनःस्थापना तथा अवरुद्ध सडक र अन्य पूर्वाधार पुनःसञ्चालनबारे छलफल गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले सबै प्रभावित क्षेत्रमा राहत सामग्री शीघ्र पुर्‍याउन, उद्धार कार्यलाई निरन्तरता दिन तथा क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना र पुनर्निर्माणलाई तीव्र बनाउन आवश्यक सबै काम गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button