कैलाश यात्रामा रहेका सद्गुरु समूहका ८० सदस्य सम्पर्कविहीन, प्रभावित क्षेत्रमा जान अनुमति माग

ड्रागन मिडिया सम्वाददाता
कैलाश यात्रामा निस्किएको सद्गुरुको समूहका ८० जना सदस्य सम्पर्कविहीन रहेको जानकारी सार्वजनिक भएको छ। सद्गुरुले विज्ञप्ति जारी गर्दै बाढीपछि ती सदस्यसँग कुनै सम्पर्क हुन नसकेको र उनीहरूको अवस्थाबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त नभएको बताएका छन्।
उनले आफू, केही स्वयंसेवक र सम्पर्कविहीन व्यक्तिका परिवारजन प्रभावित क्षेत्रमा पुगेर खोजी तथा उद्धार कार्यसँग समन्वय गर्न चाहेको उल्लेख गरेका छन्। त्यसका लागि सम्बन्धित निकायसँग प्रभावित क्षेत्रमा जान अनुमति प्रदान गर्न आग्रह गरिएको छ।
सद्गुरुले उद्धार कार्यको प्रकृति र संवेदनशीलताप्रति पूर्ण सम्मान रहेको उल्लेख गर्दै आफ्नो टोलीको उपस्थितिले चलिरहेको उद्धार अभियानमा कुनै अवरोध नपुर्याउने स्पष्ट पारेका छन्। उनका अनुसार प्रभावित क्षेत्रमा पुग्ने उद्देश्य उद्धार टोलीसँग सहकार्य गर्नु र परिवारजनलाई आफ्ना प्रियजनको अवस्थाबारे कुनै संकेत वा जानकारी प्राप्त गर्न सकिने खोजीमा सहयोग गर्नु हो।
उनले हाल आफू साँगामा रहेको र प्रभावित क्षेत्रमा प्रवेशका लागि औपचारिक अनुमतिको प्रतीक्षामा रहेको बताएका छन्।
विज्ञप्तिमा सद्गुरुले सम्बन्धित निकायको सहयोग र सहजीकरण सम्पर्कविहीन यात्रुका परिवारका लागि अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरेका छन्। आफ्ना प्रियजन कहाँ र कस्तो अवस्थामा छन् भन्ने जानकारी नपाएर प्रतीक्षामा रहेका परिवारको पीडालाई ध्यानमा राखेर खोजी कार्यलाई तीव्र बनाउनुपर्ने उनको आग्रह छ।
भोटेकोशी बाढीपछि रसुवा तथा सीमाक्षेत्रमा ठूलो संख्यामा नेपाली र विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भइरहेका बेला कैलाश यात्रामा रहेका सद्गुरु समूहका ८० सदस्यसमेत सम्पर्कबाहिर रहेको जानकारी आएको हो। सम्बन्धित निकायबाट उनीहरूको अवस्थाबारे आधिकारिक पुष्टि हुन भने बाँकी छ।





