नेपाल भ्रमणमा एसएसबीका ६ डिआइजी, सशस्त्र प्रहरी मुख्यालयदेखि प्रशिक्षण प्रतिष्ठानसम्म अवलोकन

ड्रागन मिडिया सम्वाददाता
नेपाल भ्रमणमा रहेको भारतको सशस्त्र सीमा बल (एसएसबी) का वरिष्ठ अधिकारीहरूको टोलीले काठमाडौंस्थित सशस्त्र प्रहरी बल नेपालका विभिन्न निकायको भ्रमण गर्नुका साथै भारतीय राजदूतावासका उच्च अधिकारीसँग भेटवार्ता गरेको छ। टोलीले पशुपतिनाथ मन्दिरको दर्शनसमेत गरेको छ।
एसएसबीका डिआइजीहरू सञ्जयकुमार शर्मा, अशोककुमार ठाकुर, मुकेशकुमार, कमल कान्त, ऋषिकेश शर्मा र असेम हेमोचन्द्र सम्मिलित टोली भदौ १० गते बिहान ठमेलस्थित होटलबाट पशुपतिनाथ मन्दिर पुगेको थियो। टोलीले बिहान १० बजेसम्म मन्दिर परिसरको भ्रमण तथा दर्शन गरेको थियो।
त्यसपछि भारतीय टोली काठमाडौंको चन्द्रागिरी नगरपालिका–८, मातातीर्थस्थित सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान पुगेको थियो। टोलीले त्यहाँ प्रशिक्षण संरचना, संस्थागत कार्यप्रणाली तथा सशस्त्र प्रहरीको पेशागत क्षमता विकाससम्बन्धी गतिविधिको अवलोकन गरेको बताइएको छ।
यसअघि टोलीले हलचोकस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको समेत भ्रमण गरेको थियो। सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको उपस्थितिमा अतिरिक्त महानिरीक्षकहरू वंशीराज दाहाल, गणेश ठाडामगर र अञ्जनीकुमार पोखरेललगायत वरिष्ठ अधिकारीले भारतीय टोलीलाई सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारी, परिचालन तथा संस्थागत संरचनाबारे जानकारी गराएका थिए।
नेपालको सशस्त्र प्रहरी बल र भारतको एसएसबीबीच विशेषगरी नेपाल–भारत सीमाक्षेत्रको सुरक्षा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, मानव बेचबिखन, लागूऔषध ओसारपसार तथा सीमा आवागमन सहजीकरणका विषयमा नियमित संस्थागत सम्पर्क र समन्वय हुँदै आएको छ। दुवै सुरक्षा निकायले विभिन्न तहमा समन्वय बैठक तथा पेशागत आदानप्रदानसमेत गर्दै आएका छन्।
भ्रमणकै क्रममा एसएसबीका वरिष्ठ अधिकारीहरूको टोलीले काठमाडौंस्थित भारतीय राजदूतावासमा पनि भेटवार्ता गरेको थियो। दिउँसो करिब ४ बजे लैनचौरस्थित दूतावास पुगेको टोलीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र दूतावासका उपप्रमुख डा. राकेश पाण्डेसँग छलफल गरेको थियो। टोली करिब एक घण्टापछि दूतावासबाट बाहिरिएको थियो।
भारतको सशस्त्र सीमा बल नेपाल र भुटानसँग जोडिएको भारतीय सीमाको सुरक्षा जिम्मेवारीमा रहेको केन्द्रीय सशस्त्र प्रहरी बल हो। त्यसैले एसएसबीका एकैपटक धेरै डिआइजी सहभागी नेपाल भ्रमणलाई दुई देशका सीमा सुरक्षा निकायबीचको संस्थागत सम्पर्क र पेशागत समन्वयका दृष्टिले महत्वपूर्ण मानिएको छ।





