१७ भाद्र २०८३, बुधबार

रसुवागढी अवरुद्ध भएपछि चीनतर्फ रोकिएका गाडी र सामान कोरला नाकाबाट ल्याउने तयारी

ड्रागन मिडिया सम्वाददाता

रसुवाको भोटेकोशी बाढीले रसुवागढी नाका र त्यससँग जोडिएका सडक तथा पूर्वाधारमा क्षति पुर्‍याएपछि चीनतर्फ रहेका तर बाढीबाट क्षति नपुगेका नेपाल भित्रिनुपर्ने गाडी तथा मालसामान वैकल्पिक रुट प्रयोग गरी मुस्ताङको कोरला नाकाबाट ल्याउने तयारी गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार सीमापार चीनतर्फ रोकिएका तयारी सवारीसाधन तथा मालबाहक ट्रकलाई रसुवागढीबाट तत्काल नेपाल भित्र्याउन कठिन भएपछि रुट परिवर्तन गरी कोरला नाकातर्फ पठाउने व्यवस्था मिलाउन लागिएको हो।

अर्थ सचिव घनश्याम उपाध्यायले चीनतर्फ रहेका र बाढीबाट सुरक्षित गाडी तथा सामानलाई वैकल्पिक नाकाबाट नेपाल प्रवेश गराउने तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार यसका लागि चिनियाँ पक्ष, भन्सार प्रशासन, व्यवसायी तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिनेछ।

बाढीपछि उत्पन्न भन्सार तथा आयात व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक यमलाल भुसालको नेतृत्वमा विशेष सहायता कक्षसमेत स्थापना गरेको छ। उक्त कक्षले सीमामा रोकिएका सवारीसाधन तथा मालसामानको विवरण संकलन, वैकल्पिक मार्गको समन्वय र भन्सार प्रक्रियासम्बन्धी सहजीकरण गर्नेछ।

रसुवागढी नेपाल–चीन व्यापारको प्रमुख स्थल नाकामध्ये एक भएकाले नाका र त्यससँग जोडिएको सडक सम्पर्क प्रभावित हुँदा आयात प्रक्रियामा ठूलो अवरोध उत्पन्न भएको छ। विशेषगरी चीनबाट नेपालतर्फ आउँदै गरेका सवारीसाधन, मालबाहक ट्रक तथा अन्य व्यापारिक सामग्री सीमापार रोकिएका छन्।

सरकारले तत्काल क्षति नपुगेका सामान सुरक्षित रूपमा नेपाल भित्र्याउने र आयात आपूर्ति अवरुद्ध हुन नदिने उद्देश्यले कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने तयारी गरेको हो।

कोरला नाका मुस्ताङ हुँदै चीनसँग जोडिएको अर्को स्थल सीमा मार्ग हो। रसुवागढीको अवस्था सामान्य नहुँदासम्म आवश्यक समन्वय र भन्सार प्रक्रिया पूरा गरी चीनतर्फ रहेका केही सवारीसाधन तथा मालसामान यही मार्गबाट नेपाल ल्याउने सरकारको योजना छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button