१७ भाद्र २०८३, बुधबार

बाढी प्रभावित क्षेत्रमा निजी हेलिकोप्टर अब अनुमति लिएर मात्र उड्न पाउने

ड्रागन मिडिया सम्वाददाता

सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भइरहेका निजी हेलिकोप्टरलाई अब सम्बन्धित निकायको अनुमति लिएर मात्र उडान सञ्चालन गर्न निर्देशन दिएको छ।

यसअघि बुधबार सरकारले आपत्कालीन उद्धारमा खटिने निजी हेलिकोप्टरले छुट्टै सरकारी अनुमति लिनु नपर्ने व्यवस्था गरेको थियो। तर हेलिकोप्टरहरूले आफ्नै तवरबाट उडान सञ्चालन गर्दा प्रभावित क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम सिर्जना हुन सक्ने भन्दै बिहीबारदेखि उडानलाई व्यवस्थित गर्न पुनः अनुमति अनिवार्य गरिएको हो।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै हेलिकोप्टरमार्फत खोज तथा उद्धार आवश्यक परे सम्बन्धित जिल्ला सुरक्षा समितिले निर्णय गरी व्यवस्थित रूपमा उडान सञ्चालन गर्न निर्देशन दिएको छ।

नेपाली सेनाको हेलिकोप्टर आवश्यक परे जिल्ला सुरक्षा समितिले सम्बन्धित जिल्लामा परिचालित नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्नेछ। निजी हेलिकोप्टर आवश्यक भएको अवस्थामा भने प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिमार्फत उद्धार उडानको व्यवस्था मिलाउन भनिएको छ।

निजी हेलिकोप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्युड एयरका मिङ्मा शेर्पा र एयर डाइनेस्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ।

सरकारले खोज तथा उद्धार कार्यमा हेलिकोप्टरको आवश्यकता उच्च रहे पनि एउटै क्षेत्रमा धेरै उडान अनियन्त्रित रूपमा सञ्चालन हुँदा हवाई सुरक्षामा जोखिम बढ्न सक्ने भएकाले जिल्ला सुरक्षा समिति, सुरक्षा निकाय र उड्डयन सेवाप्रदायकबीच समन्वय गरेर मात्र उडान सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button