१७ भाद्र २०८३, बुधबार

बाँके कला केन्द्रले रद्द गर्‍यो ‘तीज आइडल २०८३’, बाढीपीडितलाई राहत सहयोग गर्ने

ड्रागन मिडिया सम्वाददाता

बाँके कला केन्द्र नेपालगन्जले आगामी भदौ २७ गते आयोजना गर्ने भनिएको ‘तीज आइडल २०८३’ कार्यक्रम रद्द गरेको छ।

केन्द्रको बिहीबार बसेको कार्यसमिति बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा उत्सवमूलक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने निष्कर्षसहित कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो।

केन्द्रले जारी गरेको सूचनामा उच्च हिमाली क्षेत्रमा भएको हिमपहिरोसँग सम्बन्धित घटनापछि भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, काभ्रे, धादिङ, गोरखा, तनहुँ र चितवनका विभिन्न क्षेत्रमा जनधनको ठूलो क्षति पुर्‍याएको उल्लेख गरिएको छ। विपदको उत्पत्ति र घटनाक्रमबारे भने विस्तृत वैज्ञानिक अध्ययन जारी रहेकाले यसको निश्चित कारणबारे विभिन्न प्रारम्भिक विवरण सार्वजनिक भइरहेका छन्।

देश गम्भीर शोक र विपदको अवस्थामा रहेको भन्दै केन्द्रले यस्तो समयमा तीजलगायतका उत्सवमूलक कार्यक्रममा रमाउन नसकिने निष्कर्ष निकालेको जनाएको छ।

कार्यसमितिले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

केन्द्रले बाढीपीडितको राहतमा सहयोग गर्ने निर्णयसमेत गरेको छ। कार्यसमितिका पदाधिकारीले स्वेच्छाले जनही एक हजार रुपैयाँ वा त्यसभन्दा बढी रकम केन्द्रको बैंक खातामा जम्मा गर्ने र संकलित रकम जिल्लास्थित आधिकारिक राहत कोषमा हस्तान्तरण गर्ने निर्णय गरिएको छ।

केन्द्रले विपदको समयमा उत्सवभन्दा मानवीय सहयोग र पीडितको राहतलाई प्राथमिकता दिनुपर्ने भन्दै अन्य व्यक्ति तथा संस्थालाई पनि सम्भव सहयोगका लागि हातेमालो गर्न आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button