प्रधानमन्त्री शाह विदुरमा, भोटेकोशी बाढीको क्षति र उद्धार अवस्थाबारे ब्रिफिङ

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति र जारी खोज तथा उद्धार कार्यको अवस्थाबारे जानकारी लिन नुवाकोटको विदुर पुगेका छन्।
प्रधानमन्त्री शाह सडकमार्ग हुँदै विदुर पुगेका हुन्। उनी विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखसँगको ब्रिफिङमा सहभागी भएका छन्।
छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी छन्।
ब्रिफिङका क्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, प्रभावित क्षेत्रको अवस्था, खोज तथा उद्धारको प्रगति र तत्काल आवश्यक समन्वयबारे प्रधानमन्त्रीसहितको टोलीलाई जानकारी गराएका छन्।
प्रधानमन्त्रीको भ्रमणको मुख्य उद्देश्य प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउनुका साथै प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रबीच आवश्यक समन्वय सुदृढ गर्नु रहेको छ।





