१७ भाद्र २०८३, बुधबार

भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री सङ्कलन गर्न सरकारले तोक्यो तीन स्थान


ड्रागन मिडिया सम्वाददाता

सरकारले भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थित वितरण गर्न काठमाडौं, नुवाकोट र धादिङका तीन स्थान तोकेको छ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाईमार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघरमा जम्मा गरिनेछ। त्यहाँ सङ्कलित सामग्री प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी सरकारमार्फत वितरण गरिनेछ।

त्यस्तै, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीस्थित नेपाली सेनाको ब्यारेकलाई पनि राहत सामग्री सङ्कलन केन्द्र तोकिएको छ। ती स्थानमा जम्मा भएका सामग्री आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले राहत सहयोग गर्न चाहने व्यक्ति, संस्था तथा निकायलाई सरकारले तोकेका केन्द्रमै सामग्री उपलब्ध गराउन आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघरका लागि डब्लुएफपीकी प्रतिनिधि श्रद्धा भट्टलाई ९९८४१८७९२२२०, नुवाकोटको मैथिली ब्यारेकका लागि नेपाली सेनाका आविष्कारलाई ९९८५१२३४३२४० र धादिङको बैरेनी ब्यारेकका लागि दिलीप घलेलाई ९९८५११५४२२६० मा सम्पर्क गर्न सकिने जनाइएको छ।

राहत सामग्री सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। प्राधिकरणका अनुसार हिमालयन बैंकको डलर खाता, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नबिल बैंक र कृषि विकास बैंकमार्फत कोषमा रकम जम्मा गर्न सकिनेछ। राष्ट्रिय वाणिज्य बैंकको क्यूआर कोडमार्फत पनि आर्थिक सहयोग गर्न सकिने व्यवस्था गरिएको छ।

सरकारले राहत सामग्री र आर्थिक सहयोगलाई एकद्वार प्रणालीबाट परिचालन गरी प्रभावित क्षेत्रमा आवश्यकता अनुसार पारदर्शी र व्यवस्थित रूपमा वितरण गर्ने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button