बाढीपछि शवबाट सुन लुछ्ने र राहत सामग्री खोस्ने गतिविधि प्रहरीको निगरानीमा

ड्रागन मिडिया सम्वाददाता
बाढीपछिको संवेदनशील अवस्थामा शवबाट गरगहना निकाल्ने, बगेका सामग्री खोसाखोस गर्ने तथा सामाजिक सञ्जालमार्फत भ्रामक र विभत्स सामग्री फैलाउने गतिविधिलाई प्रहरीले निगरानीमा राखेको जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले प्रचलित कानुन तथा सामाजिक र सांस्कृतिक मर्यादाविपरीत हुने गैरकानुनी तथा अमानवीय गतिविधिले कुनै छुट नपाउने बताएका छन्।
बाढीले बगाएको एउटा शवबाट सुन निकालिएको भनिएको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएको छ। त्यस्तै, बुधबार बाढी चितवनको नारायणी नदी क्षेत्रमा पुगेपछि बगेर आएका ग्यास सिलिण्डर खोसाखोस गरिएको दृश्यसमेत सार्वजनिक भएको थियो।
प्रवक्ता काफ्लेका अनुसार शवबाट सुन निकाल्ने र सिलिण्डर तान्ने गतिविधिमा संलग्न भनिएका व्यक्तिहरू प्रहरीको जानकारीमा आइसकेका छन्। अहिले प्रहरीको प्राथमिकता घाइतेको उद्धार र उपचार, बेपत्ताको खोजी तथा मृतकको शव पहिचानमा केन्द्रित रहेकाले ती तत्कालीन काम पूरा भएपछि यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारवाही अघि बढाइने उनले बताए।
“कुनै पनि अमर्यादित तथा अमानवीय कार्यले छुट पाउने छैन,” काफ्लेले भने।
प्रहरीले विपदको समयमा अपुष्ट वा भ्रामक सूचना फैलाउने, सर्वसाधारणमा अनावश्यक भय र त्रास सिर्जना गर्ने तथा सामाजिक सञ्जालमा बढी हेराइ प्राप्त गर्ने उद्देश्यले विभत्स दृश्य सार्वजनिक गर्ने गतिविधिलाई समेत निगरानीमा राखेको जनाएको छ।
काफ्लेका अनुसार गलत सूचना, दुष्प्रचार र भाइरल हुने उद्देश्यले संवेदनशील तथा भयावह दृश्य सार्वजनिक गरिएका घटनाको विवरण प्रहरीले संकलन गरिरहेको छ।
प्रहरीले विपदको संवेदनशील समयमा पीडितको गरिमा, मृतकप्रतिको सम्मान र सार्वजनिक शान्ति कायम राख्ने जिम्मेवारी सबैको भएकाले गैरकानुनी गतिविधि तथा अपुष्ट सामग्रीको प्रसारबाट टाढा रहन आग्रह गरेको छ।





