भारतबाट दोस्रो राहत उडान काठमाडौं आइपुग्यो, ३७.५ टन मानवीय सहायता सामग्री ल्याइयो

ड्रागन मिडिया सम्वाददाता
भारतबाट दोस्रो हवाई उडानमार्फत बाढी प्रभावितका लागि राहत तथा मानवीय सहायता सामग्री काठमाडौं आइपुगेको छ।
भारतीय वायुसेनाको सी–१७ ग्लोबमास्टर–३ हेभी–लिफ्ट विमान भारतको गाजियावादबाट उडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। भारतबाट पहिलो राहत उडान बुधबार काठमाडौं आएको थियो।
काठमाडौं विमानस्थल कार्यालयका अनुसार दोस्रो उडानमार्फत मानवीय सहायता तथा विपद राहत सामग्री, औषधि र खाद्यान्नका प्याकेटसहित करिब ३७.५ टन सामग्री नेपाल ल्याइएको छ।
उक्त सहायता सामग्री बाढीबाट प्रभावित समुदायको तत्कालीन आवश्यकता पूरा गर्न प्रयोग गरिनेछ। राहत सामग्रीलाई सरकारी संयन्त्रमार्फत आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाइने तयारी छ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले भारत नेपालका सम्बन्धित अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै विपदको यस कठिन अवस्थामा नेपाललाई सहयोग जारी राख्ने बताएका छन्।
भोटेकोशी बाढीपछि खोज, उद्धार, उपचार र राहतको आवश्यकता बढिरहेका बेला विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायबाट नेपालमा मानवीय सहायता आउने क्रम जारी छ।





