त्रिशूली अस्पतालका निर्देशक भन्छन्, ‘सडक र पुल टुटेपछि घाइते ल्याउन हेलिकोप्टरको विकल्प छैन’

ड्रागन मिडिया सम्वाददाता
रसुवाको विनाशकारी बाढीपछि उद्धार गरिएका घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ। तर सडक र पुलमा व्यापक क्षति पुगेपछि प्रभावित क्षेत्रबाट अस्पतालसम्म बिरामी ल्याउनु अहिले सबैभन्दा ठूलो चुनौती बनेको अस्पतालले जनाएको छ।
त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार बुधबार १६ जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले अस्पतालमै भर्ना गरी उपचार भइरहेको छ। बिहीबार थप एक २१ वर्षीय पुरुषलाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल ल्याइएको र उनको सिटी स्क्यानसहित आवश्यक उपचार भइरहेको उनले बताए।
बाढीले सडक तथा पुलको सम्पर्क विच्छेद गरेपछि टाढाका बस्तीबाट घाइतेलाई सवारीसाधनमार्फत अस्पताल ल्याउन सकिने अवस्था नरहेको लामाले बताए। “अहिले हामी हुम्लाभन्दा पनि विकट अवस्थामा पुगेका छौँ। हेलिकोप्टरबाहेक बिरामी ल्याउने अर्को उपाय नै छैन,” उनले भने।
अस्पताल आसपासको करिब पाँचदेखि सात किलोमिटर क्षेत्रभित्र रहेका घाइतेलाई उद्धार गरी उपचारका लागि ल्याउन सकिए पनि त्यसभन्दा टाढाका बस्तीमा रहेका बिरामीलाई अस्पतालसम्म पुर्याउन कठिन भइरहेको उनले जानकारी दिए।
बाढीपछि प्रभावित क्षेत्रमा खानेपानी, विद्युत र यातायात सेवा पनि प्रभावित भएका छन्। विशेषगरी विदुर र त्रिशूलीबीचको यातायात सम्पर्क तत्काल पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेको अस्पतालले जनाएको छ।
डा. लामाले तत्काल ठूलो सडक वा पुल निर्माण सम्भव नभए पनि मानिस हिँड्न र मोटरसाइकलसम्म चल्न सक्ने अस्थायी पुल वा वैकल्पिक बाटो बनाउन सके उद्धार तथा उपचारमा ठूलो सहजता हुने बताए। “सानो भए पनि मानिस हिँड्न सक्ने पुल बनाइदिए घाइतेलाई बोकेर पारि पुर्याउन सकिन्थ्यो, त्यसपछि काठमाडौं पठाउन पनि सजिलो हुन्थ्यो,” उनले भने।
उनले प्रभावित क्षेत्रमा फसेका घाइतेलाई शीघ्र अस्पतालसम्म ल्याउने व्यवस्था मिलाउन तथा राहत केन्द्रमा रहेका नागरिकका लागि सुरक्षित खानेपानी, स्वास्थ्य सेवा र सरसफाइको पर्याप्त व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।





