जिलोङ नजिक पहिरोले थुनिएर बन्यो ताल, दोस्रो विपदको जोखिमले उद्धार थप चुनौतीपूर्ण

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचाङ स्वायत्त क्षेत्रको सिगात्सेअन्तर्गत जिलोङ नाका नजिक पहिरो र ढुंगामाटोको बहावले नदी थुनिएपछि अस्थायी ताल बनेको पाइएको छ। बुधबारको विनाशकारी घटनापछि भइरहेको खोज तथा उद्धार कार्यमा यसले नयाँ चुनौती थपेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
स्थलगत अनुगमनअनुसार ढुंगामाटो र लेदोको बहाव पुगेको बाहिरी किनारा जिलोङ नाकाबाट करिब २.५ किलोमिटर दूरीमा छ। प्रभावित क्षेत्रमा थुप्रिएको लेदो तथा भग्नावशेष कतिपय स्थानमा करिब १.५ मिटर बाक्लो रहेको बताइएको छ।
माथिल्लो क्षेत्रमा नदी अवरुद्ध भएर बनेको तालको अवस्था अहिले उद्धारकर्ताका लागि प्रमुख चिन्ताको विषय बनेको छ। अवरोध कमजोर भएर अचानक फुटेमा पुनः ठूलो बहाव आउन सक्ने भएकाले सम्भावित दोस्रो विपदको जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिइएको छ।

चिनियाँ उद्धार टोलीले ताल र नदी अवरोधको आकार, संरचना, पानीको अवस्था र सम्भावित निकासबारे अध्ययन गर्न ड्रोन, त्रिआयामिक लेजर स्क्यानर तथा अन्य प्राविधिक उपकरण प्रयोग गरिरहेको छ। जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानीका लागि अवलोकन चौकी स्थापना गर्ने तयारी पनि गरिएको छ।
चिनियाँ आपत्कालीन उद्धार अधिकारीहरूका अनुसार माथिल्लो क्षेत्रको अवरोधबाट उत्पन्न जोखिम नियन्त्रण नगरेसम्म जिलोङ नाकातर्फ थुप्रिएको विशाल लेदो तथा भग्नावशेष हटाउने काम सुरक्षित रूपमा अघि बढाउन कठिन हुनेछ। त्यसैले उद्धारसँगै सम्भावित दोस्रो पहिरो, अचानक पानीको बहाव र अस्थायी ताल फुट्ने जोखिमको निगरानी भइरहेको छ।
बुधबारको घटनाले जिलोङ नाका तथा आसपासको क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। अहिले चीनले उद्धार टोली, इञ्जिनियरिङ विशेषज्ञ, भूगर्भविद तथा प्राविधिक उपकरण परिचालन गरी खोज, उद्धार र दोस्रो चरणको जोखिम नियन्त्रणलाई समानान्तर रूपमा अघि बढाएको छ।
पछिल्लो अवस्थाले उच्च हिमाली क्षेत्रमा ठूलो पहिरो वा हिम चट्टान पतनपछि नदी थुनिएर बन्ने अस्थायी ताल स्वयं अर्को गम्भीर जोखिम बन्न सक्ने देखाएको छ। यस्तो संरचना अचानक फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः तीव्र बाढी तथा लेदोको बहाव आउन सक्ने भएकाले जिलोङ र नेपालतर्फका तल्लो नदी क्षेत्रमा निरन्तर निगरानी तथा समयमै सूचना आदानप्रदान महत्वपूर्ण बनेको छ।





