ग्लोबल आइएमई बैंकले बाढीपीडितका लागि पाँच करोड रुपैयाँ सहयोग गर्ने

ड्रागन मिडिया सम्वाददाता
ग्लोबल आइएमई बैंक लिमिटेडले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि पाँच करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बैंकले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उपलब्ध गराउने जनाएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गर्न लागिएको बैंकले जनाएको छ।
बाढी तथा पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित नागरिकका लागि तत्काल खाद्यान्न तथा अस्थायी बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रकम उपलब्ध गराउन लागिएको बैंकको भनाइ छ।
ग्लोबल आइएमई बैंकले यसअघि पनि देशका विभिन्न क्षेत्रमा आएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपदका समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।
बैंकले हाल ३४१ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।





