१७ भाद्र २०८३, बुधबार

जिलोङ नाका आसपासका सबै गाउँवासी सुरक्षित स्थानमा सारिए, ३०० भन्दा बढीको उद्धार

ड्रागन मिडिया समाचार कक्ष

चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित जिलोङ नाका आसपासका गाउँमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको सिचाङका सीमा निरीक्षण अधिकारीहरूले जनाएका छन्।

बुधबार बिहान जिलोङ नाका क्षेत्रमा आएको लेदोसहितको बाढी तथा पहिरोपछि सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै आसपासका विभिन्न गाउँबाट ३०० भन्दा बढी स्थानीय बासिन्दालाई उद्धार गरी जिलोङ काउन्टीभित्रका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

चिनियाँ पक्षको प्रारम्भिक विवरणअनुसार घटनाको प्रारम्भ नेपाली भूभागतर्फ भएको मानिएको छ। उक्त घटनाबाट जिलोङ नाका र आसपासको क्षेत्रसमेत गम्भीर रूपमा प्रभावित भएको छ। यद्यपि विपदको ठीक उत्पत्ति, कारण र घटनाक्रमबारे विस्तृत वैज्ञानिक अध्ययन अझै आवश्यक रहेको छ।

प्रारम्भिक अनुमानअनुसार चीनतर्फ तीन जनाको मृत्यु भएको छ भने ५५८ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ। यी तथ्याङ्क प्रारम्भिक भएकाले खोज तथा उद्धार कार्य अघि बढेसँगै परिवर्तन हुन सक्ने अधिकारीहरूले जनाएका छन्।

सिचाङका सीमा निरीक्षण निकाय, स्थानीय प्रशासन तथा उद्धार टोलीले प्रभावित क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने, बेपत्ताको खोजी गर्ने र सम्भावित दोस्रो चरणको विपद जोखिमको अनुगमन गर्ने कार्य जारी राखेका छन्।

जिलोङ क्षेत्रमा पहिरोले नदी थुनिएर अस्थायी तालसमेत बनेको पाइएको छ। त्यसैले उद्धार कार्यसँगै पुनः पहिरो, अचानक पानीको बहाव वा प्राकृतिक बाँध फुट्न सक्ने जोखिमलाई ध्यानमा राखेर निगरानी तीव्र पारिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button