नेपालतर्फ करिब १०० चिनियाँ नागरिक सम्पर्कविहीन, बेइजिङले विवरण पुष्टि गर्दै

ड्रागन मिडिया सम्वाददाता
बुधबारको विनाशकारी पहिरो तथा बाढीपछि नेपालतर्फ करिब १०० चिनियाँ नागरिक सम्पर्कविहीन रहेको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रारम्भिक जानकारीअनुसार करिब १०० चिनियाँ नागरिक नेपालतर्फको विपद प्रभावित क्षेत्रमा सम्पर्कविहीन रहेको बताएका हुन्।
उनका अनुसार काठमाडौंस्थित चिनियाँ राजदूतावासले नेपाली पक्षसँग समन्वय गरी सम्पर्कविहीन नागरिकको संख्या, अवस्थिति र वर्तमान अवस्थाबारे थप विवरण पुष्टि गरिरहेको छ।
भोटेकोशी तथा नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी विपदपछि ठूलो संख्यामा नेपालीसँगै विदेशी नागरिकसमेत सम्पर्कविहीन भएका छन्। नेपालका सुरक्षा निकायले प्रभावित क्षेत्र तथा नदी तटीय भूभागमा खोज तथा उद्धार कार्य जारी राखेका छन्।
चिनियाँ पक्षले पनि आफ्ना नागरिकको अवस्थाबारे जानकारी संकलन गर्दै नेपाली अधिकारीसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाएको छ। प्रारम्भिक विवरण भएकाले सम्पर्कविहीन चिनियाँ नागरिकको संख्या खोज तथा उद्धार र पहिचान प्रक्रिया अघि बढेसँगै परिवर्तन हुन सक्नेछ।





