१७ भाद्र २०८३, बुधबार

चीनतर्फ नदी थुनिएर बनेको ताल फुट्ने जोखिम, भोटेकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

ड्रागन मिडिया सम्वाददाता

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नेपाल–चीन सीमाक्षेत्रको माथिल्लो भूभागमा नदी थुनिएर बनेको ताल फुट्ने जोखिम देखिएको भन्दै भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार चिनियाँ पक्षबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनामा भूउपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा बुधबारको विनाशकारी बाढीसँग सम्बन्धित क्षेत्रमा नदी अवरुद्ध भएर ठूलो ताल बनेको देखिएको छ। तालमा पानीको मात्रा बढिरहेको र प्राकृतिक अवरोध भत्किएमा पुनः ठूलो बहाव आउन सक्ने जोखिम रहेको जनाइएको छ।

अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु, खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकसहित सबैलाई नदी किनार तथा जोखिमयुक्त स्थानबाट टाढा रही सुरक्षित क्षेत्रमा बस्न महाशाखाले आग्रह गरेको छ।

चीनको जलस्रोत मन्त्रालयबाट सार्वजनिक प्रारम्भिक विवरणअनुसार छोचेन खोला र पुरेपू त्साङ्पो नदी प्रणालीको संगम आसपास पहिरो तथा ढुंगामाटोले नदी थुनिएपछि अवरोधजन्य ताल बनेको हो। बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र प्राकृतिक अवरोधमाथिबाट पानी बाहिरिनसमेत थालेको जानकारी दिइएको छ।

चिनियाँ जलस्रोत मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार आगामी तीन दिनमा उक्त क्षेत्रमा थप करिब ३० लाख घनमिटर पानी प्रवाह हुन सक्नेछ। पानीको मात्रा बढ्दै जाँदा प्राकृतिक बाँधको स्थिरतामाथि दबाब बढ्ने र अचानक भत्किएमा तल्लो तटीय क्षेत्रमा पुनः तीव्र बाढी आउने जोखिम रहने जनाइएको छ।

चिनियाँ अधिकारीहरूले तालको अवस्था निरन्तर अनुगमन गर्दै सम्भावित बाँध फुटाइबाट उत्पन्न हुन सक्ने बहावको नमुना विश्लेषण तथा आपत्कालीन तयारी गरिरहेका छन्। नेपाल सरकारले पनि प्राप्त सूचनाका आधारमा तल्लो तटीय क्षेत्रमा सतर्कता बढाएको हो।

सीमाक्षेत्रका यी नदी प्रणाली नेपाल प्रवेश गरेपछि भोटेकोशी र त्यसपछि त्रिशूली नदी प्रणालीसँग जोडिने भएकाले माथिल्लो भूभागमा अचानक ठूलो पानी प्रवाह भए त्यसको प्रभाव नेपालतर्फका तल्लो क्षेत्रमा पर्न सक्ने जोखिम रहन्छ।

महाशाखाले अवस्था परिवर्तनशील रहेकाले आधिकारिक सूचना निरन्तर पछ्याउन, नदी किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएको निर्देशन पालना गर्न विशेष आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button