रसुवा बाढीपछि जलविद्युत आयोजनाका सयौँ कर्मचारी र कामदार सम्पर्कविहीन

ड्रागन मिडिया सम्वाददाता
रसुवाको भोटेकोशी बाढीपछि जिल्लामा निर्माणाधीन तथा सञ्चालनमा रहेका विभिन्न जलविद्युत आयोजनामा कार्यरत ठूलो संख्याका कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन्। केही आयोजनामा सयौँ व्यक्ति उद्धारको प्रतीक्षामा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ।
निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये करिब आधा विदेशी र आधा नेपाली नागरिक रहेको इप्पानले जनाएको छ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका थप ११ कर्मचारी सम्पर्कविहीन छन्। तीमध्ये आठ जना कोरियाली नागरिक हुन्। आयोजनाको परामर्शदाता जेड कन्सल्ट तथा लामा जेभियर्स जेभीसँग सम्बन्धित सात जना पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ।
माथिल्लो त्रिशूली–१ को हेडवर्क्स क्षेत्रमा १२ जना तथा विद्युतगृह क्षेत्रमा २०० भन्दा बढी व्यक्ति उद्धारको प्रतीक्षामा रहेको इप्पानले जनाएको छ। आयोजनास्थलबाट पहिलो चरणको उद्धार भने शुरु भइसकेको जानकारी प्राप्त भएको छ।
त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन छन्। टिमुरे क्षेत्रमा रहेका तीन जनाले अग्लो स्थानमा पुगेर ज्यान जोगाएको बताइएको छ।
पाँच मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत आठ कर्मचारीसँग बुधबारदेखि सम्पर्क हुन सकेको छैन। आयोजनास्थलको अवस्था बुझ्न हेलिकोप्टरमार्फत अवलोकन गर्ने प्रयास भइरहेको जनाइएको छ।
१२० मेगावाटको रसुवा भोटेकोशी आयोजनामा काम गरिरहेको सिभिल ठेकेदार सिनो हाइड्रोका दुई जना बेपत्ता छन्। सोही आयोजनासँग सम्बन्धित पाँच जनाले नजिकैको गाउँमा शरण लिएका छन्। तीमध्ये तीन चिनियाँ र दुई नेपाली नागरिक उद्धारको प्रतीक्षामा रहेको बताइएको छ।
२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा बुधबार सुरुङ क्षेत्रमा रहेका ६० जनासँग अझै सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरूमध्ये २५ जना कर्मचारी र ३५ जना कामदार रहेको जनाइएको छ। हालसम्म उनीहरूको अवस्था अज्ञात छ।
बाढीले सडक, पुल, सञ्चार र विद्युत संरचनामा व्यापक क्षति पुर्याएपछि आयोजनास्थलसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न कठिन भइरहेको छ। विभिन्न आयोजनामा फसेका कर्मचारी तथा कामदारको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न हवाई तथा स्थलमार्गबाट प्रयास जारी छ।





