नेपालको आवश्यकताअनुसार आपत्कालीन सहायता उपलब्ध गराउन तयार रहेको चीनको घोषणा

ड्रागन मिडिया सम्वाददाता
चीनले भोटेकोशी तथा नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी विपदपछि नेपालको आवश्यकताअनुसार आपत्कालीन सहायता उपलब्ध गराउन तयार रहेको जनाएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले खोज तथा उद्धारका लागि नेपाल र चीनबीच निकट सम्पर्क र समन्वय भइरहेको बताएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमसँगको कुराकानीमा लिनले पहिरो तथा बाढीले चीन र नेपाल दुवैतर्फ ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको र ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको बताए। उनले चीन सरकारका तर्फबाट नेपाल सरकार तथा विपद प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेका छन्।
“दुवै पक्षले खोज तथा उद्धारका लागि निकट सञ्चार र समन्वय गरिरहेका छन्। नेपालको आवश्यकताअनुसार चिनियाँ पक्ष आपत्कालीन सहायता उपलब्ध गराउन तयार छ,” लिनले भने।
चिनियाँ राष्ट्रपति सी चिनफिङले विपदको अवस्थालाई उच्च प्राथमिकतामा राख्दै जोखिममा रहेका व्यक्तिको खोज तथा उद्धार, प्रभावित नागरिकको स्थानान्तरण र व्यवस्थापन, घाइतेको तत्काल उपचार तथा मानवीय क्षति न्यून गर्न सबै उपलब्ध क्षमता परिचालन गर्न निर्देशन दिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
सीले अनुगमन र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन, वैज्ञानिक ढंगले उद्धार सञ्चालन गर्न तथा सम्भावित दोस्रो विपदबाट जोगिन विशेष ध्यान दिन निर्देशन दिएका छन्। प्रधानमन्त्री ली छ्याङले पनि सम्पर्कविहीन तथा प्रभावित व्यक्तिको वास्तविक संख्या शीघ्र पुष्टि गर्न र जोखिममा रहेका नागरिकलाई व्यवस्थित रूपमा सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन्।
चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ सम्बन्धित विभागका अधिकारीसहित प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा विपद प्रतिकार्यको निरीक्षण गरिरहेका छन्।
चीनले राष्ट्रिय स्तरमा दोस्रो तहको विपद राहत प्रतिकार्य सक्रिय गरेको छ भने सिचाङ स्वायत्त क्षेत्रले प्राकृतिक विपदका लागि पहिलो तहको आपत्कालीन प्रतिकार्य लागू गरेको छ। सेना, सशस्त्र प्रहरी, सीमा निरीक्षण, अग्नि तथा उद्धार निकाय र अन्य सरकारी संयन्त्रका टोली प्रभावित क्षेत्रमा परिचालित छन्।
चिनियाँ अधिकारीहरूको प्रारम्भिक विवरणअनुसार चीनतर्फको प्रभावित क्षेत्रमा २६० विदेशी नागरिक सम्पर्कविहीन छन्। स्थलगत अवस्था जटिल भएकाले उनीहरूको पहिचान तथा वास्तविक अवस्था अझै पुष्टि भइरहेको छ।
लिनले उद्धारकर्ताका लागि प्रभावित व्यक्तिको राष्ट्रियता गौण रहेको उल्लेख गर्दै “सबैको जीवन समान रूपमा महत्वपूर्ण” रहेको बताएका छन्। चीनले सम्बन्धित विदेशी दूतावाससँग पनि सम्पर्क र सूचना आदानप्रदान गरिरहेको जनाएको छ।
नेपालतर्फ भने करिब १०० चिनियाँ नागरिक सम्पर्कविहीन रहेको प्रारम्भिक जानकारी छ। काठमाडौंस्थित चिनियाँ राजदूतावासले नेपाली पक्षसँग उनीहरूको अवस्थाबारे थप विवरण पुष्टि गरिरहेको छ र प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिकलाई सुरक्षित स्थानमा जान तथा सम्भावित दोस्रो विपदप्रति सतर्क रहन आग्रह गरेको छ।
सीमाक्षेत्रमा नदी थुनिएर बनेको अस्थायी ताल र सम्भावित थप पहिरोको जोखिमलाई ध्यानमा राख्दै चीनले अनुगमन तथा पूर्वसूचना प्रणालीलाई उच्च प्राथमिकता दिएको छ। नेपालतर्फ पनि भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता बढाइएको छ।
चीनले आफ्ना उद्धार तथा राहत संयन्त्रलाई तीव्र रूपमा परिचालन गरिरहेको अवस्थामा नेपालको आवश्यकता पहिचान भएअनुसार थप आपत्कालीन सहायता उपलब्ध गराउन तयार रहेको औपचारिक घोषणा अहिलेको विपदमा नेपाल–चीन प्रत्यक्ष मानवीय तथा प्राविधिक सहकार्य विस्तार गर्ने आधार बन्न सक्ने देखिएको छ।





