भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति अध्ययन गर्न महासंघले समिति गठन

ड्रागन मिडिया सम्वाददाता
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ।
महासंघका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले बाढीका कारण यातायात व्यवसायी, मजदुर, यात्री तथा सवारीसाधनमा भएको क्षतिको अवस्था अध्ययन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिमा दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरीलगायत सदस्य छन्। समितिले बाढीमा बेपत्ता भएका सवारीसाधन, यातायात व्यवसायी र मजदुरको अवस्था पत्ता लगाउनुका साथै प्रभावित यात्रीहरूको विवरण र यातायात क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्नेछ।
महासंघका महासचिव डेकनाथ गौतमले बाढी प्रभावित क्षेत्रमा कुनै यातायात व्यवसायी, मजदुर वा यात्री अलपत्र परेको वा सम्पर्कविहीन भएको जानकारी भए महासंघको सचिवालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।





