भोटेकोशी बाढीप्रति रुसी राष्ट्रपति पुटिनद्वारा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहलाई समवेदना

ड्रागन मिडिया समाचार कक्ष
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई समवेदना सन्देश पठाएका छन्।
राष्ट्रपति पुटिनले अगस्ट २७ मा पठाएको सन्देशमा प्राकृतिक विपदबाट ठूलो संख्यामा मानिसको मृत्यु हुनुका साथै गम्भीर क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
“पहिरो र बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति मेरो गहिरो समवेदना स्वीकार गर्नुहोस्,” पुटिनले सन्देशमा भनेका छन्।
उनले रुसले मित्रवत नेपाली जनताको दुःखमा साथ दिएको उल्लेख गर्दै मृतकका परिवार तथा आफन्तप्रति सहानुभूति व्यक्त गरेका छन्।
पुटिनले भनेका छन्, “हामी मित्रवत नेपाली जनताको शोकमा सहभागी छौं।”
उनले प्राकृतिक विपदमा ज्यान गुमाएकाका परिवार तथा आफन्तप्रति आफ्नो हार्दिक सहानुभूति पुर्याइदिन राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहलाई आग्रह गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता तथा सम्पर्कविहीन भएका छन्। घटनापछि नेपाल सरकारले खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ भने विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय समुदायबाट समेत दुःख र समवेदना व्यक्त गर्ने क्रम जारी छ।





