माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको सुरुङबाट ३५० जनाको उद्धार, अझै सयभन्दा बढी फसेको अनुमान

ड्रागन मिडिया सम्वाददाता
रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीय नागरिकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुरुङभित्र ठूलो संख्यामा मानिस थुनिएको खबर सार्वजनिक भएपछि उनीहरूको अवस्थाबारे चिन्ता बढेको थियो। अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बीच नेपाली सेनाको विपद उद्धार टोलीले सुरुङमा पुगेर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सुरुङभित्र अझै एक सयभन्दा बढी व्यक्ति फसेको अनुमान गरिएको छ। उनीहरूको यकिन संख्या निर्धारण गर्ने तथा बाँकी व्यक्तिको खोजी र उद्धार गर्ने कार्य नेपाली सेनाले निरन्तर जारी राखेको छ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विभिन्न क्षेत्रमा नेपाली सेनाका विपद उद्धार टोली परिचालन गरिएको छ। बाढीका कारण सडक तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेकाले कतिपय स्थानमा उद्धार कार्य कठिन बनेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाली सेनाले बिहीबार मात्रै बाढी प्रभावित विभिन्न स्थानबाट स्थानीय नागरिक तथा मजदुर गरी कुल ८८३ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी, जोखिममा रहेका नागरिकको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ जारी राखिएको छ।





