१७ भाद्र २०८३, बुधबार

भोटेकोशी बाढीसम्बन्धी ५४ सामग्री अनुगमन, ४० आचारसंहिता प्रतिकूल: प्रेस काउन्सिल

ड्रागन मिडिया सम्वाददाता

प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित विपदका विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषित ५४ वटा सामग्रीको अनुगमन गरेको छ। तीमध्ये ४० वटा सामग्री पत्रकार आचारसंहिता प्रतिकूल देखिएपछि हटाउन वा सम्पादन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको काउन्सिलले जनाएको छ।

काउन्सिलले भदौ ११ गते सार्वजनिक गरेको अनुगमन विवरणअनुसार १५ सञ्चार माध्यम, पाँच दर्ता नभएका मिडिया तथा सामाजिक सञ्जाल र २० पत्रकारका सामाजिक सञ्जाल खाताबाट सम्प्रेषित सामग्रीमाथि कारवाही प्रक्रिया अघि बढाइएको हो। सम्बन्धित पक्षलाई टेलिफोन तथा म्यासेन्जरमार्फत सामग्री हटाउन वा सम्पादन गर्न निर्देशन तथा ध्यानाकर्षण गराइएको विवरणमा उल्लेख छ।

अनुगमनमा बाढी र त्यसबाट भएको मानवीय क्षतिसँग सम्बन्धित अत्यन्त बीभत्स दृश्य तथा शवका तस्बिर र भिडियो प्रकाशन वा प्रसारण गरिएको, पुरानो तथा विदेशको दृश्यलाई रसुवाको बाढीका रूपमा प्रस्तुत गरिएको, कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको सामग्रीलाई वास्तविक घटनाका रूपमा प्रसारण गरिएको तथा पुष्टि नभएका वा भ्रम सिर्जना गर्न सक्ने दृश्य सामग्री सामाजिक सञ्जालमा राखिएको पाइएको काउन्सिलले जनाएको छ।

कतिपय सामग्रीमा बाढीले बगाएका शव, शवबाट सुन निकालिएको भनिएका दृश्य तथा संवेदनशील मानवीय अवस्थाका तस्बिर र भिडियोसमेत प्रसारण गरिएको उल्लेख छ। काउन्सिलले यस्ता सामग्रीलाई पत्रकार आचारसंहिता प्रतिकूल ठहर गर्दै हटाउन वा आवश्यक सम्पादन गर्न निर्देशन दिएको हो।

काउन्सिलको विस्तृत विवरणमा निर्देशन तथा ध्यानाकर्षण गराइएका अधिकांश सञ्चार माध्यम, सामाजिक सञ्जाल पृष्ठ र पत्रकारले निर्देशन पालना गरेको उल्लेख छ। यद्यपि तीन वटा सामाजिक सञ्जाल तथा गैरमिडिया खाताले अनुगमनको समयसम्म निर्देशन पालना नगरेको विवरणमा देखाइएको छ।

प्राकृतिक विपदका बेला मृतक, घाइते तथा प्रभावित परिवारको मर्यादा र गोपनीयताको सम्मान गर्दै पुष्टि भएका तथ्यमा आधारित सामग्री मात्र सम्प्रेषण गर्नुपर्ने विषयलाई काउन्सिलको अनुगमनले पुनः जोड दिएको छ। विशेषगरी पुराना वा असम्बन्धित दृश्य, कृत्रिम रूपमा तयार गरिएका सामग्री र अत्यन्त संवेदनशील तस्बिर तथा भिडियोको असावधानीपूर्वक प्रयोगले जनमानसमा भ्रम, भय र थप पीडा उत्पन्न गर्न सक्ने भएकाले सञ्चार माध्यम तथा पत्रकारले अतिरिक्त सावधानी अपनाउनुपर्ने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button