लाभरोभ र ‘डिफेन्डर्स अफ द फादरल्यान्ड’ फाउन्डेसनका प्रतिनिधिबीच भेटवार्ता

ड्रागन मिडिया समाचार कक्ष
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अगस्ट २७ मा ‘डिफेन्डर्स अफ द फादरल्यान्ड’ नामक राज्य फाउन्डेसनकी अध्यक्ष अन्ना त्सिभिलेभा तथा वार्षिक ‘टुगेदर वी विल विन’ मञ्चमा सहभागी युद्ध अनुभवीहरूसँग भेटवार्ता गरेका छन्।
अनौपचारिक संवादका क्रममा लाभरोभले रुसी कूटनीतिले सामना गरिरहेका वर्तमान चुनौती तथा देशको विदेश नीतिका प्राथमिकताबारे विस्तृत चर्चा गरेको रुसी विदेश मन्त्रालयले जनाएको छ।
लाभरोभले युद्ध क्षेत्रमा जिम्मेवारी निर्वाह गरेका अनुभवीहरूको साहस, वीरता र देशप्रतिको समर्पणप्रति धन्यवाद व्यक्त गरे।
बैठकका सहभागीहरूले पश्चिमी मुलुकहरूले रुसविरुद्ध ‘हाइब्रिड युद्ध’ सञ्चालन गरिरहेको र युक्रेनलाई व्यापक समर्थन उपलब्ध गराइरहेको दाबी गर्दै, त्यसका बाबजुद रुसले ‘विशेष सैन्य अभियान’ भन्ने युक्रेन युद्धसम्बन्धी आफ्ना घोषित लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरेका थिए।
युद्धमा सहभागी सैनिक तथा अनुभवीहरूको पुनःस्थापना र सामाजिक समायोजनबारे सोधिएका प्रश्नको जवाफ दिँदै लाभरोभले उनीहरूलाई सहयोग पुर्याउन विदेश मन्त्रालयले गरिरहेका कामबारे जानकारी दिएका थिए।
उनले सन् २०२४ देखि रुसी रक्षा मन्त्रालयको मुख्य निर्देशनालय, एमजिआइएमओ विश्वविद्यालय तथा ‘डिफेन्डर्स अफ द फादरल्यान्ड’ फाउन्डेसनको सहकार्यमा सञ्चालन भइरहेको व्यावसायिक पुनःप्रशिक्षण कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको बताए।
कार्यक्रमको उद्देश्य सैन्य सेवाबाट फर्किएका सहभागीलाई नागरिक जीवनमा सामाजिक रूपमा पुनःएकीकृत गर्नु तथा रोजगारीका अवसरसँग जोड्नु रहेको छ।
सन् २०२६ जुलाईमा कार्यक्रमको चौथो चरण सम्पन्न भएपछि सहभागीको संख्या र पाठ्यक्रमको दायरा विस्तार गर्ने योजना बनाइएको छ। यस क्रममा अघिल्ला चरण पूरा गरेका सहभागीबाट प्राप्त सुझावलाई पनि आगामी कार्यक्रम निर्माणमा समेटिने जनाइएको छ।





