बीमा ऐनअन्तर्गत अनुसन्धानका लागि हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

ड्रागन मिडिया सम्वाददाता
हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
सीआईबीका अनुसार ३९ वर्षीया पौडेललाई बिहीबार काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको हो। बीमा ऐन, २०७९ अन्तर्गतको कसुरसम्बन्धी अनुसन्धानका सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण तथा सम्बन्धित विषयमा गरिएको अनुसन्धानका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको बताइएको छ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी पौडेललाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको थियो।
पक्राउपछि उनलाई अनुसन्धान प्रक्रियामा राखिएको छ। उनीमाथि लागेको आरोपका सम्बन्धमा अनुसन्धान जारी रहेकाले त्यसको अन्तिम कानुनी निरुपण भने सम्बन्धित न्यायिक प्रक्रियाबाट हुनेछ।





