नेपालको बाढी विपदमा आवश्यक सहयोग उपलब्ध गराउने ट्रम्पको घोषणा, ९० अमेरिकी अझै सम्पर्कविहीन

ड्रागन मिडिया सम्वाददाता
नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधन र भौतिक संरचनामा क्षति भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन्।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी प्रशासनले नेपाली नेतृत्वसँग सम्पर्क गरी आवश्यक जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेको जानकारी दिए। उनले नेपालसँग अमेरिकाको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै विपदबाट भएको विनाशलाई अत्यन्त भयावह भने।
“हामीले नेपालसँग सम्पर्क गरेका छौँ र उनीहरूलाई आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौँ,” ट्रम्पले भने। उनले शक्तिशाली र मजबुत रूपमा निर्माण गरिएका भवनसमेत बाढी र लेदोको तीव्र बहावमा “सिन्काजस्तै” बगाएको उल्लेख गर्दै घटनाप्रति दुःख व्यक्त गरे।
ट्रम्पले अमेरिकाले नेपालका लागि सहायता पठाइरहेको र नेपाली नेतृत्वलाई आवश्यक सहयोगका लागि तयार रहेको जानकारी गराइसकेको पनि बताए।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयले रसुवाको बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकको अवस्था पत्ता लगाउन नेपाली निकायसँग समन्वय गरिरहेको छ। अमेरिकी अधिकारीहरूका अनुसार ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन छन् भने तीन जनाको उद्धार भइसकेको छ।
ट्रम्पले प्रारम्भिक जानकारीका आधारमा प्रभावित क्षेत्रमा करिब ५० देखि ६० अमेरिकी नागरिक रहेको आफूलाई जानकारी प्राप्त भएको तर पूर्ण विवरण अझै उपलब्ध नभएको बताएका थिए।
अमेरिकी विदेश मन्त्रालयले विपद प्रतिकार्यमा सहयोग गर्न विशेषज्ञसमेत परिचालन गरेको छ। अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेसमार्फत ५ लाख अमेरिकी डलर बराबरको आपतकालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उक्त रकम प्रभावित समुदायका लागि अस्थायी आश्रय, राहत सामग्री, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोगमा प्रयोग गरिने जनाइएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले पनि प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी तथा सहयोगका लागि नेपाली अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।
अमेरिकी सरकारले बाढीबाट ज्यान गुमाएकाका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै नेपाल सरकार र प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ।





